कास्की । पोखरामा एक दिने मिनी सडक महोत्सव हुने भएको छ ।
विश्व पर्यटन दिवसको अवसर पारेर रेष्टुरेन्ट एण्ड बार एसोसिएशन (रेवान) पोखराले असोज ११ गते महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सवको सबै तयारी पूरा भएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
कोरोनाले विगत १८ महिनादेखि पुर्णरुपमा सञ्चालनमा आउन नसकेको पोखराको पर्यटन क्षेत्र यो महोत्सवले आन्तरिक तथा बाह्य पर्यटक लागी पोखरा खुल्ला छ भन्ने सन्देश दिने आयोजकको भनाइ रहेको छ ।
पोखरा पर्यटन व्यवसायीहरू पाहुनाहरूलाई स्वागत गर्न आतुर छन् भन्ने सन्देश दिन महोत्सव आयोजना गरिएको रेवानका अध्यक्ष लक्ष्मण बरालले बताउनुभयो ।
मिनी सडक महोत्सव असोज ११ गते साँझ ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने छ ।
महोत्सवमा विभिन्न रैथाने खाना देखि सांस्कृतिक कार्यक्रमहरूको समेत आयोजना हुने रेवान सचिव भीष्मराज पौडेलले बताउनुभयो ।
सचिव पौडेलका अनुसार पोखराको लेकसाइडस्थित बाराहीचोकदेखि खहरे चोकसम्म सडकमा विभिन्न खानाका परिकारहरूका स्टल राखिने छन् ।
महोत्सवमा विभिन्न साङ्गीतिक कार्यक्रमका साथै स्वदेशी तथा विदेशी खानाका परिकार प्रस्तुत प्रस्तुत गरिनेछ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराइले सरकार र निजी क्षेत्रको संयुक्त प्रयासमा मात्र पोखराको पर्यटन चलायमान हुने बताउनुभयो ।
उहाँले भन्नु भयो “अव सरकारको मात्र मुख ताकेर बस्नुभन्दा हामी आफै सुरक्षाका मापदण्ड पालना गर्दै पोखरामा हुने साहसिक पर्यटनदेखि पद यात्राका पर्यटन क्षेत्र खुल्ला भएको सन्देश दिन महोत्सव आयोजना गरिएको छ । ”
विदेशी पर्यटकलाई पोखरा सुरक्षित छ र ढुक्क भएर पोखरा भ्रमण गर्न आग्रह गर्नका लागि पनि महोत्सव महत्त्वपूर्ण हुने उहाँको भनाई रहेको थियो ।
उहाँका अनुसार अबको पर्यटन छिमेकी राष्ट्र󠄴«हरुको बोर्डरबाट प्रचार गर्दै सुस्ताएको पोखराको पर्यटन माथि उकास्न सकिने बताउनुभयो ।
पर्यटन बोर्डका प्रबन्धक नवीन पोखरेलले कोरोना महामारीले शिथिल बनेको पोखराको पर्यटनलाई महोत्सवले जागृत गराउने बताउनुभयो । उहाँले महोत्सवबाट विश्व बजारमा एउटा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो ।
पर्यटन दिवस मनाउन विभिन्न २८ देशका राजदूत र कूटनीतिक नियोगका उच्च पदस्थ कर्मचारीहरू पोखरा आउने कार्यक्रम रहको छ ।
पर्यटन दिवस प्रत्येक २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ ।