काठमाडौं, ८ असोज – नारायणहिटी दरबार संग्रहालयभित्र श्रीपेच राखिएको ठाउँको सीसा फोड्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पश्चिम रूकुम घर भएका २५ वर्षिय खिमबहादुर घर्ती रहेका छन् । उनले श्रीपेच राखेको ठाउँको सीसा फोड्ने प्रयास गरेपछि त्यहाँ सुरक्षामा खटिएकाहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।
संग्रहालयमा उनी दिउँसो साढे १ बजे श्रीपेच राखिएको कोठामा पुगेका थिए। घर्तीले श्रीपेच राखेको कोठामा खुकुरी निकालेर उक्त सीसा फोड्ने प्रयास गरेका थिए। घर्तीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए।
‘श्रीपेच निकालेर आफैं लगाउँछु, म राजा हुन्छु भनेर यस्तो गरेको उनले बताएका छन्,’ महानगरीय प्रहरी परिसरका वरिष्ठ उपरीक्षक अशोक सिंहले भने। घर्तीलाई अहिले वृत्त दरबारमार्गमा राखिएको छ। घर्ती हालै बहराइनबाट नेपाल फर्केका हुन्।