चितवन – चितवन राष्ट्रिय निकुञ्जमा गैंडा तस्करी गरी फरार रहेका एक प्रतिवादी जेल चलान भएका छन ।।पक्राउ पर्नेमा मुगु गाविस वडा नम्बर ९ स्थायी घर भइ हाले काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने वर्ष ५९ का नाङ्गे तामाङ लामा रहेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।
भदौ २३ गते पक्राउ परेका तामाङलाई सिआइबीले निकुञ्ज प्रशासनलाई बुझाएको हो । तामाङमाथि अनुसन्धान गरी जिल्ला अदालत नवलपुर पेश गरिएपछि अदालतको आदेश अनुसार पुर्पक्षको लागि जिल्ला कारागार कार्यालय भरतपुर चलान गरिएको छ ।
तामाङमाथि गत वर्षको फागुन १८ गते समेत चितवन जिल्ला अदालतमा संरक्षित वन्यजन्तु गैंडा चोरीशिकार गरेको अभियोगमा मुद्धा दायर भएको थियो । २०७६ साल भदौ ३१ गते निकुञ्जको नवलपरासीस्थित मर्दीघोल भन्ने ठाउँमा एउटा वयष्क गैंडा चोरी शिकारी गरी खाग तिब्बती व्यापारीलाई ओसारपसार गराउने कार्यमा उनको प्रत्यक्ष संलग्नतासमेत पाईएको बरालले बताए ।
उक्त घटनामा १५ जनाको संलग्नता रहेको पाइएको छ । जसमध्ये ५ जना यस अघि नै पक्राउ परिसकेका छन् । उक्त घटनामा संलग्न ९ जना अझै फरार रहेको निकुञ्जले जनाएको छ ।