काठमाडौं । ललितपुर प्याट्रियट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि शनिबारबाट सुरु हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् । ईपीएलको फ्रेन्चाइज क्लब ललितपुर प्याट्रियट्सले बिहीबार नेपाली टोलीका कप्तान मल्लले ईपीएल नखेल्ने जनाएको हो ।
ज्ञानेन्द्रले ओमान भ्रमण सकेर फर्किने वित्तिकै व्यक्तिगत कारण देखाउँदै आफू खेल्न नसक्ने भनी क्लबका प्रमुख कार्यकारी अधिकृत नीरज कोइरालालाई इमेल लेखेका थिए । ज्ञानेन्द्रले कोइरालालाई लेखेको इमेलमा भनिएको छ, “मेरो व्यक्तिगत कारणले गर्दा एभरेस्ट प्रिमियर लिगको खेल्न नसक्ने भएको छु । टिम रहेर मैले आफ्नोतर्फबाट सतप्रतिशत दिन सकिनँ भने पक्कै पनि टिमको नतिजामा असर पर्छ । यस टिमको हिस्सा हुन पाउँदा म खुसी छु । सफलताको लागि शुभकामना ।”
कप्तानले नखेल्ने भए पनि टोलीको मनोबलमा कुनै असर नपर्ने ललितपुरले जनाएको छ । “ज्ञानेन्द्र उपलब्ध नभए पनि टोली ड्रेसिङ रुममा केही असर परेको छैन । टिममा भएका सबैको खेलाडीको मनोबल उच्च छ । व्यावसायिक खेलाडीहरूले प्रतियोगितामा राम्रो प्रदर्शन गर्नेमा हामी ढुक्क छौँ,” ललितपुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसअघि नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले पनि ईपीएल नखेल्ने घोषणा गरेका थिए । चोटका कारण राष्ट्रिय टोलीका उप कप्तान दीपेन्द्रसिंह ऐरीले पनि एपीएल खेल्ने छैनन् ।