चितवन, ६ असोज । १७ औं राष्ट्रिय क्यान्सर सतर्कता दिवस अवसरमा पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क स्क्रिनिङ्ग गराईएको छ । भरतपुर महानगरपालिका वडा नं. ४ बैकुण्ठ टोलमा आयोजित कार्यक्रममा ६० जनाको पाठेघरको मुखको भिआईए परीक्षण र ६५ जनाको स्तन क्यान्सर परीक्षण गरिएको हो ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २२ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रम सञ्चालन भईरहेको छ ।
कार्यक्रममा सिर्जनशील समाजका अध्यक्ष टिकाराम सापकोटा, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. अस्मिता राणा लगायतले क्यान्सर सचेतना सम्बन्धी अभिमुखीकरण गरेका थिए ।
सो अवसरमा अस्पतालका तारा दवाडी र मञ्जु शर्माले क्यान्सर स्क्रिनिङ गर्नुभएको थियो । परीक्षणको क्रममा दुई जनाको स्तन र एक जनाको पाठेघरमा समस्या देखिएपछि थप परीक्षणका लागि अस्पताल जान सुझाईएको दावडीले जानकारी दिए । तीन दिन देखि अस्पतालले साता व्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाईरहेको छ ।