चितवन। चितवनमा गुड फार्मेसी प्राक्टिस् अर्थात् ‘असल फार्मेसी अभ्यास’ सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । नेपाल फार्मेसी संघ चितवन शाखाको आयोजनामा आइतवार भरतपुरमा उक्त कार्यशाला सम्पन्न भएको हो ।
कार्यक्रममा फार्मेसीमा सञ्चालन सम्बन्धी असल अभ्यास कसरी गर्ने , बिरामीको उपचारमा फर्मासिष्टको भूमिका र यसका फाइदाहरू का साथै औषधि सम्बन्धी परामर्श गर्दा ध्यान दिनुपर्ने विषयहरु लगायत बिषयहरुमा प्रशिक्षण गरिएको थियो । यसको सहजिकरण द्वय वरिष्ठ फर्मासिष्ट सफीउर रहमान अन्सारी र फर्मासिष्ट रमेश पौडेलले गरेका थिए ।
संघका चितवनका अध्यक्ष फर्मासिष्ट विनोद पन्तको अध्यक्षता एवम् भरतपुरस्थित बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका वरिष्ठ कन्सलटेण्ड सर्जन डा.गंगा सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
संघले सेप्टेम्बर २५ अर्थात विश्व फर्मासिस्ट दिवसको अवसर पारी नेपाल फार्मेसी संघ चितवनले विभिन्न कार्यक्रमको आयोजन गरिने जनाएको छ ।
फार्मेसी व्यवसायका सम्भावना तथा चुनौती विषयक अन्तरक्रियात्मक कार्यक्रम, व्यवसायीक तालिम एवम् प्रभातफेरी लगायतका विभिन्न कार्यक्रम रहने संघका सदस्य सुशील सिग्देलले जानकारी दिए । कार्यक्रममा औषधि व्यवस्था विभागको महानिर्देशक नारायण ढकाल, नेपाल फार्मेसी परिषद्को प्रतिनिधि लगायतको समेत सहभागिता रहनेछन ।