चितवन । गतवर्षको चैतयता कोभिड–१९ का कारण व्यवसाय गर्न नपाएका सौराहाका होटल व्यवसायीले आन्तरिक पर्यटक लक्षित प्याकेज सार्वजनिक गर्न थालेका छन् । ठूलो नोक्सान बेहोरिसकेका व्यवसायी आन्तरिक पर्यटक आकर्षित गर्न सहुलियत मूल्य तथा छूटका प्याकेज ल्याउन थालेका हुन् ।
सौराहाका युवा व्यवसायी सुमन घिमिरेले कोभिडका समयमा ‘पे नाउ, गो लेटर’ प्याकेजमार्फत ३०० जनाभन्दा बढीको बुकिङ गराएका थिए । ‘ती पाहुना यस वर्ष आउनेछन्,’ उनले भने । उनका पाहुनाले असारअघि नै रकम जम्मा गरिसकेका छन् ।
जंगल सफारी लजका सञ्चालक घिमिरेले यसपालिको दशैं–तिहार सौराहा अफर सार्वजनिक गरेका छन् । दुई रात तीन दिनको यो प्याकेजमा एउटा लञ्च, दुईओटा डिनर र दुईओटा ब्रेकफास्टसँगै पर्यटकलाई थारू संस्कृति अवलोकन गराइनुका साथै थारू म्युजियम र हात्ती प्रजनन केन्द्र घुमाइनेछ ।
होटल एशोसिएशन नेपालका सदस्य ज्ञानेन्द्रकुमार विष्टको रेन फरेष्टमा पनि यो प्याकेज घोषणा गरिएको छ । ‘हामीले दशैं–तिहारलक्षित प्याकेज सार्वजनिक गरेका छौं,’ उनले भने । एक रात दुई दिनको उक्त प्याकेजको मूल्य ४ हजार ४४४ रुपैयाँ रहेको छ । सो प्याकेजमा एक/एकओटा लञ्च, डिनर र ब्रेकफाष्टका साथै जीप वा हात्ती सफारीमध्ये एक र कल्चरल डान्स समावेश छन् ।
सौराहाकै होटल सेभेनस्टारले दशैं–तिहार अफर ४० प्रतिशत छूट गरेको छ । कोठामा यो छूट दिइएको हा । होटलका प्रबन्ध निर्देशक माधव दुवाडीले खानामा १० प्रतिशत र कर्पोरेट कार्यक्रममा पनि विशेष छूट दिइएको बताए । ‘कर्पोरेट कार्यक्रम, विवाह लगायतका लागि कोठा बुकिङ हुन थालेका छन्,’ उनले भने । भारतीय र मारवाडी समुदायको विवाहको बुकिङ भएको उनको भनाइ छ । क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलिया धेरै होटलले केही सस्तोमा नेपाली पर्यटक लक्षित प्याकेज सार्वजनिक गर्न थालेको बताउँछन् । ‘अब पर्यटक आउँछन् भन्नेमा हामी विश्वस्त छौं,’ उनले भने । आन्तरिक पर्यटक भिœयाउन सकेमा होटल टिक्ने उनको भनाइ छ । सौराहामा ११० होटल र १०० हाराहारी रेष्टुरेन्ट छन् ।
रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान)का अध्यक्ष दीपेन्द्र खतिवडाले अब रेष्टुरेन्ट साँझ अबेरसम्म चल्न पाउने भएसँगै छूटका अफर ल्याउने विषयमा छलफल थालिएको बताए । कोभिड घटेको र चाडपर्व आएकाले पर्यटक आउने आशामा आफूहरू रहेको खतिवडाको भनाइ छ । ‘जे–जति नोक्सान बेहो¥यौं, अब नहोलाजस्तो लाग्छ,’ उनले भने । आन्तरिक पर्यटकलाई लक्षित गरी नेपाली परिकारको गुणस्तर विकास गर्नेतर्फ व्यवसायी लागेको उनले बताए ।
क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले अधिकांश होटलले आन्तरिक पर्यटक लक्षित गरेर प्याकेज सार्वजनिक गरेको बताए । कतिपयले प्याकेज बनाएको कतिपयले एकमुष्ट छूट दिएको उनको भनाइ छ ।
गतवर्षको चैतयता होटल बन्द हुँदा ठूलो नोक्सान बेहोरेका व्यवसायी अब होटल खुल्दै गर्दा आन्तरिक पर्यटकलाई आकर्षित गरेर व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्काउन लागिपरेको उनले बताए । रासस