चितवन । केरा, पोल्ट्री, मौरी, तरकारीको हबको रुपमा विकास हुदै गएको चितवनमाचितवनमा पछिल्लो समय ड्रागन फ्रुट खेतीमा आकर्षण बढ्दै गइरहेको छ ।
साना किसानदेखि जिल्लाका अन्य व्यवसायीहरुले पनि ड्रागन फ्रुट खेती शुरु गर्न थालेका छन् । कोरोना प्रभावका अधिकांश उद्योग व्यवसायमा असर परेको बेला विकल्पको रुपमा उनीहरु कृषि व्यावसायतर्फ हात हालेका हुन् ।
विगत ३ वर्ष यता चितवनमा करीब २५ बिघा जमिनमा व्यावसायिक रुपमा ड्रागन खेती शुरु भएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ ।
वाग्मती प्रदेश कृषि विकास मन्त्रालयका प्रवक्ता राजन ढकालले मन्त्रालयले चितवनका लागि विशेष प्राथमिकतामा राखेर ड्रागन खेती विस्तारका लागि काम शुरु गरेको बताए ।
उनका अनुसार समूहका रुपमा १६ बिघा क्षेत्रमा ड्रागन फ्रुट खेती विस्तार भएको र अन्य व्यक्तिगत तर्फबाट साना किसानले पनि ८÷१० बिघामा खेती गरिसकेका छन् । वर्षेनी ड्रागन फ्रुट खेती गर्ने किसानको संख्या बढ्दै गएको ढकालले बताए ।
शैक्षिक उद्यमी शम्भु सुवेदी र उनको समूहले भरतपुर गौरीगञ्जमा सत्सबेदा साईन्स एण्ड एग्रिकल्चर फर्म हाउस दर्ता गरेर २ वर्षदेखि डेढ बिघा जमिनमा ५ हजार बिरुवा रोपेर यो खेती गरेका छन् । कृषि ज्ञान केन्द्रको ड्रागन पकेट कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा यो खेती शुरु गरेको उनले जानकारी दिए । हालसम्म ४० लाख रुपैयाँ लगानी भइसकेको सुबेदीको भनाइ छ ।
यो खेती स्वास्थ्यका दृष्टिकोणले धेरै फलदायी र एक पटक रोपेपछी २० वर्षसम्म फल लिन पाइने भएकाले यसबाट राम्रो लाभ लिन सकिने भएकोले यस खेतीतर्फ आफ्नो आकर्षण बढेको सुबेदीको भनाइ छ । हाल यसको बजार मूल्य प्रतिकेजी ६०० देखि ८०० सम्म रहेको बताइन्छ ।
यस्तै, भरतपुर महानगरपालिका वडा नम्बर २६ दिब्यनगरमा दुई दाजुभाइ पदमबहादुर गुरूङ र ताइबहादुर गुरूङले ५० लाख लगानीमा गंगाश्री बहुउद्देश्यीय कृषि फर्म खोलेर एक बिघा बढी जमिनमा ड्रागन फ्रुट खेती गरेका छन् ।
विदेशको रोजगारीबाट फर्केर यस खेतीको सम्भावना बढी भएकोले ड्रागन खेती थालेको उनीहरुको भनाइ छ । अन्य किसानले पनि सिको र परीक्षणको लागि पनि आफ्नो घर करेसाबारीमा समेत ड्रागन फ्रुट खेती शुरु गरेको देख्न सकिन्छ । भरतपुर महानगर २१ पार्वतीपुरका किसान नारायण प्रसाद सोतीले ५ कठ्ठा क्षेत्रफलमा आफ्नो करेसा बारीमा ड्रागन फ्रुट खेती गरेको बताए ।
खाली खेर गएको जमिन पनि सदुपयोग हुने र ड्रागनको बिचमा अन्तर बालि पनि लगाउन मिल्ने भएकाले आफूले परीक्षणका रुपमा यस पटक ड्रागन खेतीको बिरुवासँगै धानखेती गरेकोे उनले बताए । चितवनमा ड्रागन फ्रुटको लागि उपयुक्त हावापानी र माटो रहेको र यसको माग र प्रतिफल पनि उच्च रहेकोले आफूहरु यस खेतीतर्फ आकर्षित भएको किसानहरुको भनाइ छ ।
ड्रागन अहिलेसम्म परीक्षणकै रुपमा रहेको नयाँ खेती भएको र किसानहरुले आफैले विभिन्न तरिकाहरु गरेर परीक्षण समेत गर्दै आएको प्रदेश कृषि मन्त्रालयका प्रवक्ता ढकाल बताउँछन् ।
यो खेतीका लागि पानी नजम्ने बलौटे प्रकारको माटो चाहिने र चितवनको माटोमा यो खेती राम्रो हुने देखिएकाले आफूहरुले किसानलाई अनुदान प्रदान गरेर यहाका फार्मलाई नमूना र मोडल फार्मका रुपमा विकास गर्न लागेको ढकालले बताए ।