काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक १ दशमलव ४८ प्रतिशत घटेको छ ।
यो दिन ४४ दशमलव १८ अंकले घटेर नेप्से परिसूचक २ हजार ९३६ दशमलव ६० विन्दुमा झरेको हो । सोमवार हालसम्मकै उच्च १६१ दशमलव ९४ अंक बढेर २ हजार ९८० दशमलव ७८ विन्दुमा पुगेको बजार मंगलवार घटेको हो ।
पछिल्लो समय मार्जिन कर्जाको सीमा विवादमा बजारमा उच्च उतारचढाब देखिएको छ । मार्जिन कर्जाको सीमा रू. १२ करोड कायम गरिएसँगै बजारमा नकारात्मक प्रभाव परेको हो । सोमवार उक्त सीमा खारेजीको माग गर्दै लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंक घेराउसमेत गरेका थिए ।
लगानीकर्ताहरुले बजारलाई नकारात्मक प्रभाव पार्ने नीति ल्याएको भन्दै गभर्नरको राजीनामासहितको १५ बुदे माग अघि सारेका छन् । सोमवारनै राष्ट्र बैंकले मार्जिन कर्जाको विषयमा थप प्रष्ट पार्दै उद्यमी व्यवसायीहरुले उद्योग व्यवसाय गर्नका लागि अन्य धितोसँगै शेयरसमेत धितो राख्न चाहेमा शेयर धितो राखी कर्जा लिन पाउने जानकारी दिएको थियो ।
सोमवार उत्साहित बनेका लगानीकर्ताहरु मंगलवार भने पर्ख र हेरको अवस्थामा रहेको पाइएको छ ।
यस दिन २ हजार ९९९ दशमलव ६२ विन्दुदेखि खुलेको बजार २ हजार ९१३ विन्दुसम्म झरेको थियो । यस दिन सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ९१ प्रतिशत अर्थात् ५ दशमलव शून्य ५ अंकले घटेर ५४८ दशमलव ३५ विन्दुमा झरेको छ । सोमवार सेन्सेटिभ इन्डेक्स ६ दशमलव शून्य २ प्रतिशत अर्थात् ३१ दशमलव ४१ अंक बढेर ५५३ दशमलव ४० विन्दुमा पुगेको थियो ।
मंगलवार अन्य समूहको १ दशमलव शून्य १ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ५६ प्रतिशत परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । यस दिन होटल्स तथा पर्यटन समूहको सर्वाधिक २ दशमलव ९९ प्रतिशत परिसूचक घटेको हो ।
त्यस्तै लघुवित्तको २ दशमलव ५८ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव १३ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ९२ प्रतिशत, बैंकिङ्गको १ दशमलव ६८ प्रतिशत, वित्तको १ दशमलव ६४ प्रतिशत, व्यापारिकको १ दशमलव ५६ प्रतिशत, जलविद्युतको १ दशमलव ५२ प्रतिशत, विकास बैंकको १ दशमलव २९ प्रतिशत, जीवन बीमाको १ दशमलव ८ प्रतिशत र लगानी समूहको शून्य दशमलव ४२ प्रतिशत परिसूचक घटेको छ ।
घटेको बजारमा यस दिन सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य मात्र उच्च दरमा बढेको छ । उक्त कम्पनीकोे शेयरमूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता रू. ४१ दशमलव १० ले बढेर अन्तिम मूल्य रू.४५२ दशमलव २० कायम भएको छ ।
मंगलवार आरएमडिसी लघुवित्तको ७ दशमलव ७३ प्रतिशत र रू रू जलविद्युत् परियोजनाको शेयरमूल्य ७ दशमलव शून्य १ प्रतिशत घटेको छ । यस दिन आरएमडिसी लघुवित्तको प्रतिकित्ता रू. १३० दशमलव ५० ले घटेर अन्तिम मूल्य रू. १ हजार ५५८ दशमलव ५० र रू रू जलविद्युत् परियोजनाको प्रतिकित्ता रू. ९८ ले घटेर अन्तिम मूल्य रू. १ हजार ३०० कायम भएको हो ।
सोमवारको तुलनामा मंगलवार कारोबार रकम घटेको छ । पर्ख र हेरको अवस्थाले गर्दा मंगलवार रू. ७ अर्ब ४९ करोड ५८ लाख १२ हजारमा खुम्चिएको छ । सोमवार भने रू. ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार बराबरको १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता शेयर कारोबार भएको थियो । कुल कारोबार रकममा सर्वाधिक हिस्सा यस दिन युनाइटेड मोदी हाइड्रोपावरले ओगटेको छ ।
उक्त कम्पनीको रू. ६१ करोड ९२ लाख ९१ हजार बराबरको १० लाख ३९ हजार ६०१ कित्ता शेयर कारोबार भएको हो । शेयर कित्तामा पनि कम्पनीले सर्वाधिक हिस्सा ओगटेको हो ।
सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य पनि ७ दशमलव ७८ प्रतिशतले बृद्धि भएको छ । प्रतिकित्ता रू. ४३ दशमलव ८० ले बढेर कम्पनीको अन्तिम मूल्य रू. ६०७ कायम भएको छ ।