चितवन – नेपाली कांग्रेसको १४ औँं महाधिवेशन अन्तर्गत जिल्लाका ९० वडाका अधिवेशन सम्पन्न भएका छन् । ती मध्ये ८३ सर्वसम्मत् र ७ मा निर्वाचनमार्फत वडा समिति र क्षेत्रीय प्रतिनिधि छनोट गरिएको हो काँग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले बाँकी ८ वडामा आज निर्वाचनको प्रक्रिया सुरुआत भएको जानकारी दिए ।
बाँकी रहेका वडामा राप्ती नगरपालिका–६, खैरहनी नगरपालिका–४, भरतपुर महानगरपालिका–४, ६, ७, १५, र १९ छन् । यस्तै माडी नगरपालिका–१ मा निर्वाचन आजै हुँदै छ । राप्ती र खैरहनीमा निर्वाचनको प्रक्रिया सुरु भइसकेको उनले बताए ।
भरतपुर–४ र माडी –१ मा वडा समिति टुङ्गिएको र क्षेत्रीय प्रतिनिधिका लागि सर्वसम्मत्को प्रयास भइरहेको छ । अन्य बाँकी रहेका वडामा निर्वाचनको प्रक्रिया सुरु भइसकेको उनले बताए ।सभापति श्रेष्ठका अनुसार आज र भोलिमा वडा अधिवेशन टुङ्गो लाग्ने छ । जिल्लामा रहेका सात पालिकामा ९८ वडा छन् ।
वडा अधिवेशन सकिएसँगै नगर अधिवेशनको तयारी गरिने छ ।महाधिवेशनकै सिलसिलामा यही भदौ २७ गते नगर अधिवेशन हुने छ । जिल्लामा एउटा महानगरपालिका, पाँच नगरपालिका र एउटा गाउँपालिका छन् । अगामी असोज १ गते प्रदेशको अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधि र प्रदेश कार्यसमिति बनाउने छ । असोज ५ गते क्षेत्रको अधिवेशन हुने निर्वाचन तालिका छ । तालिका अनुसार असोज १० गते जिल्ला अधिवेशन हुने छ । जिल्ला सभापति पदमा ८ जनाको दाबी गरिरहेका छन् । रासस