चितवन । चितवनको रत्ननगरमा निर्माण गरिएको घरेलु उपज विक्री केन्द्रको भवन आइतवार रत्ननगर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । महिला उद्यमीहरुले उत्पादन गरेका घरेलु सामाग्री किनबेच गर्ने उद्देश्यले प्रदेश सरकारको लगानीमा घरेलु तथा साना उद्योग कार्यालय चितवनले विक्री केन्द्रको भवन निर्माण गरिएको थियो ।
रत्ननगर नगरपालिका वडा नम्बर २ अन्तर्गत तरकारी मण्डी नजिक निर्माण गरिएको सो भवन एक औपचारिक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
नगरपालिकाको निगरानीमा सञ्चालन तथा व्यवस्थापन समितिले सो केन्द्र सञ्चालन गर्नेछ । केन्द्र सञ्चालनको लागि डबल श्रेष्ठ अध्यक्ष रहेको समिति समेत बनाइएको छ । कार्यक्रममा रत्ननगरका मेयर नारायण वनले जिल्ला विकास समितिका सभापति कृष्णकुमार डल्लाकोटी र घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्यको रोहवरमा सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठलाई विक्री केन्द्र हस्तान्तरण गरेका हुन् ।
मेयर वनले समितिलाई हस्तान्तरण गरेसंगै विधिवत रुपमा केन्द्र सञ्चालनमा आएको छ । सो अवसरमा बोल्दै मेयर वनले स्थानीय स्तरमा उत्पादित कृषि बस्तुहरुको बजार सुनिश्चितता र उचित मुल्यको लागि बिक्री केन्द्र उपलब्धिमुलक हुने बताए । ग्रामिण क्षेत्रका किसानहरुलाई व्यवसायिक बनाउने र उनीहरुले उत्पादन गरेका बस्तुहरु केन्द्रमा ल्याएर विक्री गर्ने उद्देश्यले घरेलु उपज विक्री केन्द्र सञ्चालनमा ल्याइएको वनको भनाई छ ।
जिल्ला समन्वय समितिका सभापति डल्लाकोटीले महिलाहरुलाई उद्यमी बनाउन विक्री केन्द्रको भवन निर्माण गरिएको बताए । ‘महिलालाई आत्मनिर्भर बनाउने,घरमा सामाग्री उत्पादन गर्न प्रोत्सहान गर्ने लक्ष्यका सात पूर्वी चितवनमै पहिलो विक्री केन्द्र सञ्चालनमा ल्याइएको हो ।’ डल्लाकोटीले भने ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विमला दुवाडी,रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेला अध्यक्ष किशोर बगाले लगायतले मन्तव्य राखेका थिए । प्रदेश सरकारको ३० लाखको लगानीमा एक तले भवन निर्माण गरिएको हो ।