काठमाडौं । वाग्मती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुन: सञ्चालन गर्दै छ ।
गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षा र लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षामा (ट्रायल) संलग्न हुने, एकपटक प्रयोगात्मक परीक्षा अनुत्तीर्ण हुने तथा कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजस्व बुझाइसकेका सेवाग्राहीका लागि परीक्षा सञ्चालन हुने जनाएको छ ।
यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७८’ स्वीकृत गरेसँगै रोकिएका परीक्षा सञ्चालन गर्न मन्त्रालय मातहतका निकायलाई बाटो खुला भएको हो । कोरोनाका कारण देशभर परीक्षा रोकिँदा करिब आठ लाख सेवाग्राही समस्यामा परेका जनाइएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले अब सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७८ का अनुसार परीक्षा हुने जानकारी दिए ।
कार्यालयले खुला ठाँउ भएको विद्यालय वा अन्य भवनलाई लिखित परीक्षाको लागि खोजी गरी प्रयोग गर्नुपर्ने मापदण्डमा व्यवस्था छ । अब ‘सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन निर्देशिका–२०७७’ अनुसार परीक्षा हुने बताइएको छ ।
यसैबीच, नयाँ निर्देशिका अनुसार विभागले परीक्षाका लागि वस्तुगत नमुना प्रश्न सार्वजनिक गरेको छ । विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटरसहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको अनुमतिपत्रको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक गरिएको हो । लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारीसाधनको प्राविधिक पक्षसम्बन्धी सामान्य व्यावहारिक ज्ञानका विषय समेटी पूर्णांक १०० रहने गरी चार/चार अंकका जम्मा २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने जनाएको छ । त्यही संग्रहभित्रबाट २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने र ३० मिनेटका परीक्षामा उत्तीर्ण हुन न्यूनतम ६० अंक ल्याउनुपर्नेछ । निर्देशिकामा प्रयोगात्मक परीक्षाका प्रावधानमा समेत परिमार्जन गरिएको बताइएको छ ।
भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा प्रयोगात्मक परीक्षा
यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले प्रयोगात्मक परीक्षाका लागि ‘ट्रायल सेन्टर’का रूपमा भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरलाई स्वीकृति दिएको छ । चन्द्रागिरि नगरपालिका–१२, बलम्बुस्थित गुर्जुधारामा रहेको सो एकेडेमीले सरकारको मापदण्डअनुसार प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने जनाएको छ ।
नेपालको सबैभन्दा ठूलो र सुविधासम्पन्न सो एकेडेमी ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ । सो एकेडेमीमा सबै प्रकारका यातायातका साधनका लाइसेन्सको प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा छ । कोभिड–१९ का लागि निर्धारण गरिएको स्वास्थ्य मापदण्डलाई पालना गर्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा सुरु हुने एकेडेमीका अध्यक्ष राजेश घिमिरेले जानकारी दिए ।
उनले भने, “प्रयोगात्मक परीक्षार्थीका लागि सामाजिक दूरी अनिवार्य कायम गरिएको छ । ज्वरो मापन, स्यानिटाइजर तथा मास्क अनिवार्य गरिएको छ ।” रासस