काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा शनिवार अर्थात् भदौ १९गतेदेखि जीपलाइन सञ्चालनमा ल्याइने भएको छ ।
चन्द्रागिरी हिल्स लिमिटेडको लगानीमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर नेपालकै सबैभन्दा उच्च स्थानमा जीपलाइन सञ्चालनमा ल्याउन लागेको हो ।
चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले भालेश्वर मन्दिर नजिकदेखि खेल मैदानसम्म १०० मीटर जीपलाइन सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण देखिएपछि झण्डै पाँच महीनादेखि बन्द रहेको चन्द्रागिरी सरकारले निषेधाज्ञा पूर्णरूपमा हटाएसँगै खुला गरिएको हो ।
निषेधाज्ञा हटेसँगै चन्द्रागिरी केवलकारसमेत पूर्णरूपमा सञ्चालन आउने भएको छ । यसअघि रिसोर्ट जाने पाहुनालाई मात्र केवलकारको सेवा प्रदान गर्दै आएको चन्द्रागिरी हिल्स लिमिटेडले शनिवारदेखि स्वदेशी तथा विदेशी पर्यटकसमेतलाई केवलकारले सेवा प्रदान गर्ने महाप्रबन्धक शाहले बताए ।
‘कोरोना महामारीका कारण बन्द रहेको केवलकार शनिवारदेखि पूर्णरूपमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागेका छौँ’, उनले भने । केवलकारमा यात्रा गर्ने यात्रु तथा पर्यटकलाई स्वास्थ्य सुरक्षाका नियम अनिवार्य पालना गर्न अनुरोध समेत गरेको छ ।
ऐतिहासिक र धार्मिक महत्व बोकेको भालेश्वर मन्दिर दर्शन गर्न नेपाल, भारत र विभिन्न देशका पर्यटक चन्द्रागिरी पुग्ने गरेका छन् । पछिल्लो समय चन्द्रागिरी आन्तरिक तथा बाह्य पर्यट्रकका लागि महत्वपूर्ण गन्तव्यस्थल बनिरहेको छ । रासस