चितवन । नारायणगढको क्याम्पा चौरमा जारी मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबलमा आजबाट चितवन बिजनेश कन्क्लेभ हुँदै छ ।
कन्क्लेभमा आज `नेपालमा विश्वविद्यालय शिक्षा´ शिर्षकमा प्यानल छलफल हुन लागेको एक्स्पो आयोजक नेपाली युवा उध्यमी मन्च चितवन च्याप्टरका पूर्व अध्यक्ष सूर्यभक्त अधिकारीले जानकारी दिए ।
प्यानल लिस्टमा पूर्व शिक्षा मन्त्री एवम् प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठ र कृषि तथा वन बिज्ञान विश्वविद्यालय रामपुरकी उपकुलपति डा शारदा थपलिया रहेका छन् ।
मोडरेटरको भुमिकामा अंकुरम एकेडमीका प्रीन्सिपल सुमन पौडेल रहेका छन् ।
हिजोदेखि सुरु भएको मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल वैशाख २ गतेसम्म सञ्चालन हुनेछ । पाँच दिनसम्म चल्ने एक्स्पोमा दैनिक बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नेपाली उत्पादनको प्रदर्शनी हुने छ । बेलुका ६ बजेदेखि राति ९ बजेसम्म फुड फेस्टिबलसँगै कन्सर्ट हुने छ । प्रदर्शनी अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने कन्सर्ट हेर्नका लागि भने टिकटको व्यवस्था गरिएको छ ।
कन्सर्ट हेर्नका लागि ५०० रूपैयाँको टिकट लाग्ने आयोजकले बताएको छ । एक्स्पो एण्ड फुड फेस्टिबलमा १०० भन्दा बढी स्टल छन् ।
आजको कन्सर्टमा रकहेडको प्रस्तुति रहनेछ । भोलि चैत ३१ गते पूर्ण राई र द परिवर्तन, वैशाख १ गते द स्वर र वैशाख २ गते उदय र झक्कासको विशेष प्रस्तुति रहने अधिकारीले बताए । फुड फेस्टिबलमा थकाली, थारु, तामाङ, नेवारी, तराई र अन्य परिकारहरुको स्वादको विविधता पाइनेछ जसमा अर्गानिक उत्पादन, लाइभ कुकिङ डेमो, फुड आर्ट डिस्पले र फोटो फ्रेन्ड्ली डिजाइन क्षेत्रहरु समावेश हुनेछन् ।
एक्स्पोमा कृषि, निर्माण सामग्री, प्रविधि, हस्तकला, परम्परागत कपडा, फुड एण्ड बेभरेज, ग्रीन इन्डष्ट्री, रियल स्टेट, टेक्नोलोजी तथा इनोभेसनलगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यवसायीहरु सहभागी रहेको बताए ।