विप्लव काफ्ले , स्पेन । नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काले दुई वर्षे कार्ययोजना तयार गरेको छ । अध्यक्ष केशरबहादुर थापाले पछिल्लो समय स्पेनमा नेपालीहरुको चाप बढ्न थालेकाले तथ्यांक संकलन तथा राहदानी घुम्ती सेवा सञ्चालनका लागि पहल भैरहेको बताए ।
नेपालीहरुको अवस्था पहिचान गर्दै आवश्यक सहजीकरण गर्न कोष्टाव्लाङ्का भित्र क्षेत्रगत रुपमा समन्वय समिति बनाएरै तथ्यांक लिइने बताए । ´नयाँ पुराना सबै नेपालीहरुलाई समाजमा जोड्ने छौँ` , उनले भने, ´प्रत्यक्ष भेटेरै समस्या समाधान गर्न पहल गर्नेछौँ ।` उनले राहदानी (पासपोर्ट) को घुम्ती सेवा ल्याउनका लागि स्पेनस्थित नेपाली राजदुतावासलाई अनुरोध गरिने बताए । राहदानी बनाउनुपर्ने व्यक्तिहरुको नामावली संकलन गर्न सूचना समेत निकालिने बताए ।
नेपालहरुका लागि सहयोग गर्न हेल्प डेस्क बनाइने बताए । उनले गुम्बा-मन्दिर निर्माण अभियान तीव्र पारिने बताए । ´स्पेनमा संसारभरका पर्यटक आउँछन्`, उनले भने, ´बुद्ध र हिन्दु धर्म, नेपाली चाडपर्वबारे जानकारी दिने सेन्टर सरह हुनेछ ।` गुम्बा- मन्दिर बनाउन रकम जुटाउने देखि जग्गा खोजि गर्ने कार्यमा अग्रजहरुसँग पनि सल्लाह लिदै सफल पारिने बताए ।
महासचिव विजय कुँवरले नेपाली भाषाको स्कुल चलाउने लक्ष्य लिइएको बताए । स्पेनमा जन्मिएका नेपाली बालबच्चाहरुलाई नेपाली भाषा, संस्कृति बुझाउन स्कुल महत्त्वपूर्ण रहेको बताए । सचिव छेसाङ लोप्चन असिमका अनुसार दुई वर्षे कार्ययोजना निर्माणले समाज थप सक्रिय बन्ने बताए ।
उनका अनुसार गुम्बा-मन्दिर निर्माण अभियान, राहदानी घुम्ती सेवा, समन्वय उपसमिति बनाउने, नेपाली भेला ´मितेरी´ कार्यक्रम, नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रम गर्ने, तीज विशेष कार्यक्रम ´माइती´ कार्यक्रम गर्ने, दशै-तिहार विशेष सांस्कृतिक कार्यक्रम ´नेपाली उत्सव`, तिहारमा देउसी कार्यक्रम गर्ने योजना रहेको बताए । नेपाली स्कुल सञ्चालन, तालिम (दक्षता अभिवृद्धि )सञ्चालन , हेल्प डेस्क निर्माण, अन्तर्राष्ट्रिय फुड फेष्टिबलमा नेपाली खाना, कला संस्कृति प्रदर्शन गर्ने लगायतका दर्जनौं कार्यक्रमहरु समावेश गरिएका छन् ।
एशोसियसनको पहिलो बैठकले निवर्तमान कार्यसमिति तथा निर्वाचन समितिलाई धन्यवाद समेत ज्ञापन गरेको छ । आगामी बैठकले संरक्षक तथा सल्लाहकार चयन गर्ने निर्णय गरेको छ ।