चितवन । महाशिवरात्रीको अवसरमा मंगलबार आयोजित भजन प्रतियोगितामा धार्मिक सेवा समिति मौलाकालिका मन्दिर प्रथम भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित सरस्वती युवा क्लबको आयोजनामा शिवरात्रीको अवसरमा लमजुङ्ग चोकमा भएको प्रतियोगितामा २४ भजन समुहले भाग लिएका थिए ।
यस्तै प्रतियोगितामा भाषा कला तथा संस्कृति प्रतिष्ठान दोस्रो र सरस्वती बाल क्लबले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा सान्त्वनमा पुरस्कार दुई समुहले प्राप्त गरेका छन । श्री जागृत हरि भजन समुह र कमलपोखरी तथा दुर्गा मन्दिरले सान्त्वना पुरस्कार प्राप्त गरेका हुन् । प्रथम हुनेलाई नगद ३० हजार रुपैंया सहित प्रमाणपत्र, द्धितिय हुनेलाई २० हजार रुपैंया सहित प्रमाणपत्र र तेस्रो स्थान प्राप्त गर्नेलाई १० हजार रुपैयांँ सहित प्रमाण पत्र र सान्त्वना पुरस्कार दुईजनालाई ५ , ५ हजार र प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष सुवास सिलवालले जानकारी दिनुभयो । प्रतियोगिताको निर्णायक मण्डलमा हिरालाल कंडेल, मधुसुदन घिमिरे र अर्जुन सापकोटा रहनु भएको थियो ।
पुरस्कारको सौजन्य विभिन्न संघसंस्था तथा दाताले गरेका थिए । प्रथम पुरस्कारको सौजन्य ज्ञान ज्योति ईगलिस स्कुल भरतपुर–१४, द्धितिय पुरस्कार सौजन्य भरतपुर १५ का विपिन पौडेल हाल क्यानडा, तृतिय पुरस्कार सौजन्य ड्रिमलाइन कन्स्ट्रक्सन, र सान्त्वना पुरस्कार सौजन्य आर्शिवाद ट्रेड एण्ड सप्लायर्स शान्तिचोकले गरेको छ ।
प्रतियोगिताको उद्धघाटन भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले गर्नुभएको थियो । सो अवसरमा मेयर दाहालले क्लबले धर्म संस्कृति, सम्पदाको रक्षार्थ गरेको कार्यक्रमको प्रसंशा गर्नुभयो । उहांँले क्लबको भवन निर्माणार्थ आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
क्लवका अध्यक्ष सिलवालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संयोजन शान्ति केसीले गर्नुभएको थियो । धर्म संस्कृति र सम्पदाको जर्गेना एवं संरक्षण गर्ने उद्धेश्य सहित भजन प्रतियोगिता गर्न लागिएको हो ।क्लबले यसअघिपनि थुप्रै सिर्जनात्मक र सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिंँदै जाने अध्यक्ष सिलवालको भनाई छ । वडा नम्बर १४ र १५ का युवाहरुलाई एकीकृत गरी रचनात्मक काम गर्ने उद्धेश्य सहित क्लबको स्थापना २०५० सालमा भएको थियो ।