चितवन । प्रतिनिधि सभाका सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले सनातन धर्ममाथिको बाह्य हस्तक्षेप र अतिक्रमण बन्द हुनुपर्ने बताएका छन् । देवघाटमा जारी देवघाट महा–महोत्सवमा आइतबार सम्बोधन गर्दै तनहुँ क्षेत्र नम्बर १ का सांसद डा.वाग्लेले लुम्बिनीदेखि हिमालसम्मका बौद्ध, पूर्वका किराँती तथा सम्पूर्ण हिन्दूहरूको संस्कृति र परम्परामा बाह्य शक्तिहरूले अतिक्रमण गरिरहेको र अब यो अतिक्रमण बन्द हुनुपर्ने बताए । राष्ट्रले सनातन संस्कृति र धर्मको संरक्षण गर्नु अपरिहार्य भएको डा.वाग्लेले बताए ।
वाग्लेले आफू कट्टर सनातनी हिन्दू भएको बताउँदै आफ्नो आमा सहित नेपाल र भारतका विभिन्न धार्मिक स्थलहरूको तिर्थयात्रा गरेको उल्लेख बताए । ‘मेरो पार्टी धर्मका सम्बन्धमा प्रष्ट छ, हाम्रो मूल दस्तावेजमै नेपाल सनातन राष्ट्र हो भन्ने उल्लेख छ’ उनले भने ‘देवघाट महा–महोत्सवको सफलताले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्छ ।’
सांसद वाग्लेले देशको समृद्धिका लागि चार प्रमुख क्षेत्र ऊर्जा, कृषि, पर्यटन, र प्रविधिको व्यापक प्रयोग र उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए । उनले भने ‘हामीले हाम्रो सम्पदा र धर्मसँगै आर्थिक विकासलाई पनि मजबुत बनाउन आवश्यक छ ।’ उनले धार्मिक, सांस्कृतिक, र आर्थिक उन्नतिका लागि यस्ता महामहोत्सवहरूको निरन्तरता आवश्यक रहेको बताए ।
उक्त कार्यक्रममा देवघाट महा–महोत्सवका सत्संकल्पकर्ता ईश्वरकृष्ण महाराजले सांसद वाग्लेलाई हिन्दु राष्ट्रका सम्बन्धमा स्पष्ट धारणा राख्न अनुरोध गरेका थिए । ‘तपाईंहरूको सबै नीति स्पष्ट देखिन्छ, तर धर्मका सम्बन्धमा किन गोलमटोल जवाफ दिनुहुन्छ ?’ उनले सांसद वाग्लेलाई सोधे ‘हिन्दु राष्ट्रका विषयमा तपाईहरुको के को टाउको दुखाइ हो ?’ उक्त प्रश्नको जवाफ दिँदै सांसद वाग्लेले भने ‘मेरो पार्टी धर्मका सम्बन्धमा प्रष्ट छ, हाम्रो मूल दस्तावेजमै नेपाल सनातन राष्ट्र हो भन्ने उल्लेख छ ।’
उक्त अवसरमा सांसद वाग्लेले निर्माणाधिन मातापिता सेवा आश्रमको लागि आफ्नो व्यक्तिगत तर्फबाट १ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए । वाग्लेले ३६५ कोठायुक्त मातापिता सेवाश्रमको स्थलगत भ्रमण गर्दै उक्त मातापिता सेवाश्रमको निर्माणार्थ सहयोगीहरूसँग समन्वय गरी थप योगदान जुटाउने प्रतिबद्धता जनाए ।
सांसद डा.वाग्लेको उपस्थिति, सनातन धर्म र संस्कृतिको रक्षाको लागि बाह्य हस्तक्षेप रोक्नुपर्छ भन्ने स्पष्ट धारणा, तथा मातापिता सेवाश्रमका लागि सहयोग संकलनको प्रतिबद्धताले महा–महोत्सवलाई थप उर्जा प्रदान गरेको तथा उक्त सहभागिताले देवघाटधाममा धार्मिक पर्यटन प्रवद्र्धन र विकासको नयाँ सम्भावनाहरू खुलाउने आयोजकले दावी गरेका छन् ।