चितवन । भरतपुर स्थित मदिराजन्य उत्पादन गर्ने माउण्ट एभरेष्ट ब्रुअरीका मजदुर तथा कर्मचारीले तलबको माग गर्दै आन्दोलन गरेका छन । उनीहरुले आज भरतपुरमा पत्रकार सम्मेलन गरेर २८ महिना देखिको तलब नपाएको भन्दै निरन्तर आन्दोलन र दबाब दिदै आएको बताए । एकबर्ष अघिसम्म बियर उत्पादन गरेको सो उद्योगले डेढसय भन्दा बढी मजदुर तथा कर्मचारीको तलब, सञ्चयकोष उपादान नदिएपछि उनीहरु आन्दोलनमा आएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै आन्दोलनका संयोजक माधव प्रसाद पौडेलले बारम्बार ताकेता गर्दा पनि तलब नपाएपछि आफूहरु आन्दोलनमा उत्रनु परेको बताए । ‘हाम्रो एकै व्यक्तिको तलब न्यूनतम १५ लाख भन्दा बढी छ । हामीले बारम्बार अनुरोध ताकेता गर्यौं । तर कम्पनीले कसैको पनि कत्तिपनि पैसा दिएन ।’ संयोजक पौडेलले भने ।
पौडेलले तलबको लागि श्रम तथा रोजगार कार्यालयमा उजुरी दिंँदा पनि हालसम्म माग सुनुवाई नभएको बताए । ‘हामीले श्रम कार्यालय हेटौंडामा पनि उजुरी दर्ता गरेका छौ। उद्योगको बैंक खातापनि रोक्का गरेका छौं । सबै निकायमा पनि दबाब दिदै आएका छौं । तर कुनै सुनुवाई भएको छैन ।’ पौडेलले भने । यो अवधिमा तीनजना मजदुर दुर्घटना र बिरामी भएर उपचार खर्च पनि नदिदा मृत्यु वरण गर्नुपरेको उनको भनाई थियो । उद्योगले तलब दिने आश्वासन दिएर अन्योल सिर्जना गरिंदिदा अन्यत्र समेत काम गर्न नपाएको र आफूहरुको दैनिकी समेत चलाउन धौधौ परेको उनले गुनासो गरे ।
आन्दोलनका सह–संयोजक सिताराम पुडासैनीले उद्योग लिलामी गरेर भएपनि आफूहरुको तलब पाउनु पर्ने बताए । ‘कि लिलामी गरेर हामीले पाउनु पर्ने बक्यौता तलब पाउनु पर्यो । कित उद्योग सञ्चालन गरेर तलब नियमित गर्नुपर्यो ।’ पुडासैनीले भने । उद्योगले गर्नुपर्ने सम्झौता बमोजिम कार्यान्वयन गर्न गराउन उनले सरकारसंँग पनि आग्रह गरे । उद्योगले कर कार्यालयलाई तिर्न १ अर्ब भइसक्यो, विद्युतको विल ४५ लाख भन्दा माथि भइसक्यो होला । उनले भने, सरकारले यो संँगै हाम्रो गुनासोलाई पनि सम्बोधन गर्नुपर्यो र सरकारको राजश्व पनि उठोस भन्ने पनि हाम्रो चाहना हो ।’
भरतपुर महानगरपालिका वडा नम्बर १२ मा पांँच विघा क्षेत्रफलमा सञ्चालन हुंँदै आएको उक्त ब्रुअरी २०४७ बाट सञ्चालनमा आएको हो । यो उद्योगले शुरुमा सामिग्यल वियरको उत्पादन गर्दै आएपनि पछिल्लो बर्ष गोल्डेन टाईगर, एभरेष्ट वियर र राइनो वियर उत्पादन गर्दै आएको थियो । गतबर्षदेखि उद्योगको उत्पादन तथा बिक्री वितरण पूर्णरुपमा बन्द छ ।