चितवन । भोलि (आइतबार)देखि सुरु हुने राइजिङ भरतपुर गोल्डकप–२०८१ को ट्रफीको अनावरण गरिएको छ । प्रतियोगिता हुने ठाउँ भरतपुर–१० स्थित नेपाल प्रहरी शिक्षालयमा आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमा ट्रफी अनावरण गरिएको हो ।
पत्रकार सम्मेलनमा प्रतियोगिताको आयोजक चितवन ११ फुटबल क्लबका अध्यक्ष सुशील कार्कीले यस प्रतियोगिता चितवनको फुटबल विकासका लागि महत्वपूर्ण हुने बताउनुभयो । चितवन जिल्लाकै सबैभन्दा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिताको उद्घाटन खेल आबु खैरहनी गाउँपालिका र भरतपुर २४ खेलकुद विकास समितिबीच भोलि दिउँसो २ बजे हुने कार्कीको भनाइ छ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले गर्ने बताइएको छ ।
आठ वटा टिम सहभागी प्रतियोगिताको विजेताले उपाधिसहित सात लाख रुपैयाँ तथा उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षापङ्क्तिका खेलाडीलाई जनही १० हजार रुपैयाँ तथा प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ प्रदान गरिने कार्कीको भनाइ छ ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण टिम ११ युट्युब च्यानल तथा राइजिङ भरतपुर गोल्डकपको फेसबुक पेजबाट हुने कार्कीले जानकारी दिनुभयो ।