देवघाट महामहोत्सवमा आएकी कथा वाचिका देवी प्रतिभाले भरतपुर मनपा–१ बागीश्वरीमा रहेको श्री बागीश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमद्वारा सन्चालित श्री योगी नरहरिनाथ गौं संरक्षण केन्द्रको निरिक्षण गरेकी छिन् । देवी प्रतिभाले आइतबार बिहान गौं संरक्षण केन्द्रमा आई गौं दर्शन र केन्द्रको अवलोकन गरेकी हुन् ।
अवलोकनपछि बोल्दै देवी प्रतिभाले सनातन धर्मको संरक्षणकोलागि गौ संरक्षण गर्नु पर्ने बताइन् । सनातन धर्मको विरुद्ध अहिले सबै तिरबाट आक्रमण भएको हुँदा सनातन धर्मको रक्षाको लागि सबै लाग्नु पर्ने उनको भनाई थियो । सबैले देवघाट आउँदा गौ संरक्षण केन्द्रको अवलोकन गरि गौ को सेवा गर्नु पर्ने उनले बताइन् ।
उक्त अवसरमा विश्व जागरण महाअभियान ट्रष्टका संरक्षक एवं देवघाटमा जारी देवघाट महा–महोत्सवका संकल्पकर्ता इश्वरकृष्ण महाराजले सनातन धर्मको रक्षाकोलागि गौ संरक्षण गर्नुपर्ने बताए । उनले महा–महोत्सवमा संकलित अन्न मध्ये केही गौ संरक्षण केन्द्रमा उपलब्ध गराउने बताए ।
सो अवसरमा देवी प्रतिभा सहितलाई स्वागत गर्दै योगी नरहरिनाथ गौं संरक्षण केन्द्रका अध्यक्ष नवराज ढकालले २०३९ सालमा स्थापित यस गौ संरक्षण केन्द्रमा २५० वटा गाईको संरक्षण गरि राखिएको बताए । गौ संरक्षण विना सनातन धर्मको पनि संरक्षण नहुने हुँदा केन्द्रले विभिन्न दाताहरुको सहयोगमा गौ संरक्षण गर्दै आएको जानकारी दिए । पुरस्कार सौजन्य बेबील्याण्डले गरेको थियो भने कार्यक्रम सञ्चालन विजय घिमिरेले गरेका थिए ।