चन्द्रपुर । ३ माघः रौतहटको चन्द्रपुर–६ चन्द्रनिगाहपुरमा रहेको प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चन्द्रनिगाहपुरमा बिरामीको आकर्षण बढेको छ । केही वर्षअघि दैनिक तीन÷चारजना मात्र सेवाग्राही आउने उक्त चिकित्सालयमा हिजोआज ५० जनाभन्दा बढी बिरामीहरू उपचारका लागि आउने गरेका छन् ।
चिकित्सालयका सूचना अधिकारी रुपनारायण महतोले चिकित्सालयमा रौतहटका मात्र नभई छिमेकी मुलुक भारतबाट समेत उपचारका लागि आउने गरेको जानकारी दिनुभयो । हरेक वर्ष चिकित्सालयमा आउने बिरामीको सङ्ख्या बढ्दै गएको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०८०/८१ मा ३१ हजार दुई सय ६६ बिरामीले सेवा लिएकामा १६ हजार एक सय २४ पुरुष र १५ हजार एक सय ४२ जना महिला रहेका महतोले बताउनुभयो ।
प्राप्त तथ्याङ्कअनुसार सो केन्द्रमा सबैभन्दा बढी सन्धिगत बाथरोगका बिरामीहरु बढी आउने गरेको पाइएको छ । गत आर्थिक वर्षमा सो रोगका पाँच हजार ६ सय २० जना बिरामीले उपचार गराएका थिए । यसैगरी, अल्पपित्तका चार हजार सात सय २५ जनाले उपचार गराउनुभएको तथ्याङ्कमा उल्लेख छ ।
चालु आर्थिक वर्षको गत साउनदेखि मङ्सिरसम्म चार हजार तीन सय ५२ महिला र चार हजार सात सय ५४ पुरुष गरेर नौ हजार एक सय ६ जनाले सेवा लिएको सूचना अधिकारी महतोले जानकारी दिनुभयो ।
यहाँ सेवाग्राहीको आकर्षण बढ्दै गए पनि भौतिक पूर्वाधार तथा अन्य स्रोतसाधनको अभावले उपचारमा समस्या भइरहेको चिकित्सालयका प्रमुख डा शिवशङ्कर रायले गुनासो गर्नुभयो । सानो भवन, केमिकलको अभावले थाइराइड जस्ता रोगको परीक्षण गर्न नसकिएको उहाँले बताउनुभयो । “प्रदेश सरकारले पठाउने विभिन्न प्रकारको औषधि आठ÷नौ महिनामा नै सकिन्छ । त्यसपछि औषधिको समेत समस्या हुने गरेको छ । स्थानीय सरकारले सहयोग नगर्ने र प्रदेश सरकारले समयमा नै औषधि नपठाउने र पठाएको औषधिसमेत पर्याप्त नहुँदा सेवा प्रवाहमा कठिनाइ हुने गरेको छ”, प्रमुख रायले भन्नुभयो ।
यहाँ बहिरङ्ग सेवा (ओपिडी), ज्येष्ठ नागरिक सेवा (ज्येष्ठ नागरिकलाई रसायन औषधि निःशुल्क वितरण), स्तनपाइ (आमाहरूलाई दूधवद्र्धक औषधि निःशुल्क वितरण), बाथका बिरामीका लागि पञ्चकर्म सेवा, होमियोप्याथिक सेवा र प्रयोगशाला सेवा दिने गरिएको छ । आयुर्वेद सेवा केन्द्रमार्फत अति आवश्यकमध्ये २३, स्तनपाइका दुई र ज्येष्ठ नागरिकलाई तीन प्रकारका औषधिहरू निःशुल्क दिने गरिएको कार्यालय प्रमुख रायले जानकारी दिनुभयो ।
यहाँ उपचारका लागि आउने बिरामीले ‘एलोपेथिक’ बाट हुक्क भएपछि आयुर्वेदतर्फ आकर्षित भएको बताउने गरेका छन् । त्यसैकारण चिकित्सालयको वृत्तिविकासमा सरकारले आवश्यक सहयोग गर्नुपर्ने धेरैको भनाइ छ । गरुडा–९ कमलपटीबाट यहाँ उपचारका लागि आउनुभएका कमल सहनीले वर्षौसम्म खुट्टा दुखेको समस्याको उपचार गराउँदा पनि समाधान नभएपछि चिकित्सालयमा आएको सुनाउनुभयो । उहाँले चिकित्सालय व्यवस्थापकीय सुधार र पूर्वाधार निर्माणमा ध्यान दिए आफूजस्ता धेरै बिरामी लाभान्वित हुने बताउनुभयो ।
गढीमाई– ४ मदनपुर बलुवाकी अमृताकुमारी बैठाले पनि आयुर्वेद चिकित्साबाट आफूजस्ता धेरै बिरामी लाभान्वित भएको भन्दै चिकित्सालयको सुधारका लागि आग्रह गर्नुभयो । रासस