चितवन । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ ।
महोत्सवमा विविधि विविधि गतिबिधिहरु भइरहेका छन् । जसमा दैनिक सांस्कृतिक कार्यक्रम भइरहेको छ भने कहिले काहिँ खेलकुदका गतिविधि समेत भइरहेका छन् ।
महोत्सव परिसरमा आज बिहान स्लो साइकल रेस प्रतियोगिता सम्पन्न भएको छ ।
साइकल व्यावसायी संघ चितवन नवलपुरसँगको सहकार्यमा महोत्सव मुल समितिले स्लो साइकल रेस प्रतियोगिता आयोजना गरेको हो । ३८ जना सहभागि भएको प्रतियोगितामा प्रथम, द्दित्तिय र तृतिय हुनेलाई साइकल पुरस्कार दिइएको चितवन महोत्सव खेलकुद समिति संयोजक शंकर प्रसाद घिमिरेले जानकारी दिए ।
स्लो साइकल रेसमा करन खड्का प्रथम, अन्जित ढकाल द्दित्तिय र सुरेश राना तृतिय हुन सफल भएका छन् । उनीहरुले क्रमशः गेर साइकल, लेडिज साइकल र सानो साइकल पुरस्कार प्राप्त गरेका छन् ।
खुला रुपमा खेलाडीको दर्ता गराइएको थियो । दर्ता शुल्क प्रति खेलाडी रु १०० रुपैयाँ तोकिएको थियो ।
प्रतियोगितापछि उद्योग वाणिज्य संघ समित र कर्मचारीहरु पनि मैत्रिपूर्णरुपमा स्लो साइकल रेस खेलेका थिए ।
पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।
चितवन महोत्सव अन्तर्गत नै पुष २९ गतेबाट नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल समेत सुरु भएको छ । फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ ।