चितवन । भरतपुर–७ मा रहेको प्रेमबस्ती दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको प्रेमबस्ती दुग्ध उत्पादकको २४ औं साधारण सभा बार्षिकोत्सव सम्पन्न भएको छ । मंगलबार संस्थाका अध्यक्ष आनन्द न्यूरेको अध्यक्षतामा २४ औं साधारणसभा एवं २५ औं बार्षिकोसव मनाएको हो ।संस्थाले एकबर्षमा ४ करोड रुपैंया बराबरको कारोबार गरेको जनाएको छ । सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष न्यूरेले गतबर्ष संस्थाले चार करोड बराबरको कारोबार गर्दै आएको बताए ।
प्रेमबस्ती दुग्ध सहकारीले दिनको एक हजार पाँच सय लिटर दूध उत्पादन गर्दै आएको छ सहकारीले दूध उद्योगीहरुलाई बेच्ने गरेको उनले बताए । झन्डै २०० किसानहरु सहकारीमा आबद्ध छन् । प्रेमबस्ती दुग्ध सहकारीले आफ्नै मोडेल गाई फार्म पनि सञ्चालनमा ल्याएको अध्यक्ष निउरेले बताए । उनले सहकारीको गाई फार्ममा १३० वटा गाईभैँसी रहेको बताए ।
अध्यक्ष निउरेका अनुसार प्रेमबस्ती दुग्ध सहकारीले १० बिघामा सुपर नेपियर घाँसखेती गर्दै आएको छ । उनले भविष्यमा सहकारीले उद्योग सञ्चालनमा ल्याउन बताए । उनले थपे, ‘गुदपाक, खुवा, पनिर, पुष्टकारी, चिजलगायतका परिकार उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याउनेछ’ अध्यक्ष निउरेका अनुसार गोबर मल प्रशोधित गर्ने र यसलाई प्याकेजिङ गरी बेच्ने योजनासमेत बनाइएको छ ।
बजार क्षेत्रबाट प्रेमबस्ती नजिक भएकाले भविष्यमा बजार क्षेत्रमा विक्री काउन्टरहरु सञ्चालनमा ल्याउने योजनासमेत बनाइएको अध्यक्ष निउरेले बताए । उनका अनुसार दूधमा किसानको लागत घटाउने उपायहरु गर्दै आइएको छ । किसानलाई तालिमसमेत दिइएको छ ।
साधारण सभामा अध्यक्ष निउरे, कोषाध्यक्ष राजेन्द्रप्रसाद न्यौपाने, वरिष्ठ उपाध्यक्ष ईश्वरकुमार श्रेष्ठ, व्यवस्थापक सागर पराजुलीले तयार पारेको आर्थिक तथा प्रगति प्रतिवेदन साधारण सभाले पास गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालले किसानले दूधको भुक्तानी पाउन नसकेको बताए । उनले भने, ‘साउनदेखि चितवनका किसानले दूधको भुक्तानी पाएका छैनन्, दुई पटक आन्दोलन गरियो, अझै भुक्तानी पाइएको छैन ।’ उनका अनुसार चितवनका दुग्ध उत्पादक किसानको ८० करोडको भुक्तानी बाँकी छ ।
कार्यक्रममा पशु सेवा कार्यालयका प्रमुख डा सुशील केसी, विभिन्न सहकारी संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरु शुभकामना व्यक्त गरेका थिए ।