चितवन । नेकपा (एमाले) निकट उद्योग तथा व्यवसायीहरुको सङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको केन्द्रीय विधान तथा नीति निर्माण सम्मेलन नवलपुरमा हुने भएको छ । पुस १२ र १३ गते जिल्लाको गैँडाकोटमा विधान तथा नीति निर्माण सम्मेलन हुने लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । वर्तमान समयमा नेपाली अर्थतन्त्रमा देखिएका समस्या र समाधान सहितको दृष्टिकोणबारे सम्मेलनमा छलफल हुने जनाइएको छ ।
पत्रकार सम्मेलनका क्रममा नेपाल उद्योग तथा व्यवसायी महासङ्घका संयोजक भागिरथ सापकोटाले देशको अर्थतन्त्रमा उद्योगले पु¥याएको योगदानको करिब ९५ प्रतिशत हिस्सा साना तथा मझौला उद्योग व्यवसायले ओगटेको बताए । व्यवसायी धनी हुँदैमा समाज धनी नहुने भन्दै उनले व्यवसायको पैसा समाजमा पु¥याउन आवश्यक रहेको बताए । नेपालको अर्थतन्त्रलाई माथि लैजानका लागि विभिन्न पाँचवटा विषयमा लगानी बढाउनुपर्ने उनको भनाइ छ ।
महासंघका निवर्तमान उपाध्यक्ष एवम् विधान तथा नीति निर्माण सम्मेलन संयोजक डा तिलचन्द्र भट्टराईले सरकार, पार्टी र व्यवसायी गरी त्रिपक्षीय छलफल हुने र राज्यलाई सुझाव दिने बताए । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार डा युवराज खतिवडा, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल तथा देशका ७७ वटै जिल्लाबाट करिब तीन सय जना व्यवसायी प्रतिनिधिहरुको सहभागिता रहने भट्टराईले बताए ।
नेपालमा कुनै पनि बस्तु ठूलोमात्रामा उत्पादन गर्न नसकिएको भन्दै भट्टराईले निर्यात भएका बस्तुहरु निर्यात गर्ने अवस्था नभएको बताउनुभयो । गैँडाकोटमा हुने विधान तथा नीति निर्माण सम्बन्धी विस्तारित बैठकले सङ्गठनको विधान संशोधन गर्दै चितवन नवलपुर घोषणापत्र जारी गर्नेछ ।