बिष्णु प्रसाद भण्डारी, चितवन । भरतपुर भ्रमण वर्ष २०२४ बार्षिकोत्सबको अवसरमा राष्ट्रिय खाना महोत्सव आयोजना गरिने भएको छ । स्थानीय उत्पादन र पर्यटकीय क्षेत्र मेघौलीको प्रर्वद्धन गर्ने उद्धेश्यसहित यहि पुस १२ गते देखि १६ गते सम्म रैथाने खाना महोत्सव गर्न लागिएको हो । महोत्सवमा खाना स्थानीय खाना संगै ७७ जिल्लाको प्रतिनिधित्व गर्दै ७७ मिटर लम्बाईको नेपालको नक्सा विशेष आकर्षकको रुपमा रहने छ ।
मेघौलीको जानकी माध्यमिक बिद्यालय मेघौलीमा आयोजना गर्न लागिएको महोत्सवमा ५० वटा स्थानिय खानाका स्टलहरु रहने संयोजक मायाराम चौधरीले जानकारी दिए । उनका अनुसार रु ६१ लाखको अनुमानित खर्चमा लाग्ने आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईयो । चौधरीका अनुसार स्थानिय थारु, कुमाल, दराई, मगर, गुरुङ, वोटे, मुसहर समुदाय सहितका स्थानीय जातका खाना महोत्सवमा राखिने छ । स्थानीय समुदायको जीवन स्तरमा सुधार ल्याउन महोत्सव फलदायी हुने चौधरीले बताए । महोत्सबमा १ लाख भन्दा बढि पर्यटक आउने अनुमान गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको समयमा लक्ष्य भन्दा बढी पर्यटक महानगरमा भित्रिएको बताइन् । ‘महानगरपालिका भित्र एक वर्षमा बाह्य २ लाख र आन्तरिक १० लाख पर्यटकले अवलोकन गरेका छन् । भरतपुर भ्रमण वर्षले यहाँका पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धनमा टेवा पुगेको, आन्तरिक तथा बाह्य पर्यटकको संख्या बृद्विमा महत्वपूर्ण भुमिका पुगेको छ ।’ दाहालले भनिन । दिगो पर्यटन विकासका पूर्वाधारहरु थपिएको, होटल रेष्टुरेन्टमा सेवा बृद्वि भएको, पर्यटकको संख्या, बसाई अवधिी एवं आर्थिक क्रियाकलापहरुमा बृद्वि भएको उनको भनाई छ ।
महानगर प्रमुख दाहालले भ्रमण वर्ष सफल बनाउन विभिन्न चुनौतिहरु देखिए पनि पूर्वाधार निर्माण र सुधारका साथै अपेक्षा अनुसार अन्य काम तीब्र रुपमा भएको बताइन् । राजनैतिक अस्थिरता, स्थानिय पालिकाबाट पहिलोपटक आयोजना गरिएको हुँदा सिको गर्ने ठाउँ नहुनु, भौतिक निर्माणमा तदारुपताका साथ काम हुन नसक्नु मुख्य समस्याको रुपमा दाहालको भनाई थियो ।
महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको विकास संगै जनतालाई प्रत्यक्ष लाभान्वित वनाउने उद्वेश्यले भ्रमणा वर्षको आयोजना गरिएको र सो उद्वेश्य प्राप्तिमा महानगर सफल भएको बताए । स्थानीय जनतामा यो महोत्सवले थप पर्यटन प्रर्वद्धन र आर्थिक गतिविधि मा टेवा मिल्ने उनले बताए । महोत्सवमा प्रवेश पास निःशुल्क गरिएको छ ।