काठमाडौँ । काशी हिन्दू विश्वविद्यालयका प्रा डा दीपक मल्लिकले नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको बताउनुभएको छ ।
सहिद स्मृति प्रतिष्ठान केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक परिवेश र समावेशी लोकतन्त्र विषयक’ कार्यशालामा उहाँले अब हाम्रो विचार बदलिनुपर्नेमा जोड दिनुभयो । उहाँले विचार बदलिएमा राजनीतिक परिवेश र समावेशी लोकतन्त्रले पनि सफलता पाउने बताउनुभयो ।
प्रा डा मल्लिकले गणतन्त्र एवं लोकतन्त्रमा सबै नागरिकका हक अधिकार बराबरी हुने भएकाले यसले सफलता पाउँदै आएको दाबी गर्नुभयो । शासन सञ्चालनमा सम्पूर्ण क्षेत्र, भाषा, लिङ्ग, वर्ग र समुदायका नागरिकलाई न्यायोचित सहभागी गराउने शासकीय पद्धति नै समावेशी लोकतन्त्र भएकाले यसको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले समावेशी लोकतन्त्र निर्माणका लागि बिपी कोइराला, गिरिजाप्रसाद कोइराला, प्रदीप गिरीलगायतका नेताहरूले देशमा खेलेको भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिश पोखरेल, पूर्वसांसद किरण यादव, पूर्वराजदूत डा विजय कर्ण, प्रतिष्ठानका अध्यक्ष खिलानाथ दाहाललगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो । रासस