चितवन । गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा आज नारायणगढमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । बैंकको क्षेत्रीय कार्यालय जुनहल रोड संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत गरिएको रक्तदान कार्यक्रममा आठ जना महिला सहित ७८ जनाले रगत दिएका हुन् ।
बैंकका क्षेत्रीय प्रमुख कुमार गुरुङको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा जुन हल रोड टोल विकास संस्थाका अध्यक्ष सन्तोष श्रेष्ठ, बैंकका संस्थापक शेयरधनीहरु अनन्दलाल चुके, पूर्णबहादुर कँडेल, डा.सूर्यकान्त घिमिरे, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी लगायतका अतिथिहरुको सहभागिता थियो ।
बैंकका नारायणगढ शाखा प्रमुख तोयानाथ अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोग रहेको थियो ।
गरिमा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समयसमयमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ । यस बैंकले बि.सं. २०६४ कात्तिक १८ गते आफ्नो व्यावसायिक कारोबार सुरु गरेको थियो । राष्ट्रिय स्तरको विकास बैंक बनेको गरिमाका देशभर १२३ वटा शाखा र एक एक्सटेन्सन काउन्टरको सञ्जाल रहेको छ ।