चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १२ मा जिपिएस ( ग्लोबल पोजिसन सिष्टम) प्रणाली सहित अन्य तथ्याङ्क संकलनको प्रक्रिया शुरु गरिएको छ । वडाको प्रोफाइललार्ई एपको माध्यमबाट डिजीटलाईजेशन गर्ने उद्धेश्यले भरतपुर महानगरपालिका वडा नम्बर १२ ले यो काम शुरु गरेको हो । जनतालाई सेवा प्रवाहमा सहज र प्रविधिमैत्री बनाउने उद्धेश्य सहित प्रोफाइलको काम शुरु गरिएको वडा अध्यक्ष लेखराज पन्तले जानकारी दिनुभयो । ‘यसले वडावासीलाई सेवा प्रवाहमा सहज पनि हुन्छ र हामीलाई वडाको तथ्यांकबाट हरेक टोलको विस्तृत विवरण पनि प्राप्त हुन्छ ।’ अध्यक्ष पन्तले भन्नुभयो । कार्यालयले डिजीसफ्ट डेभलपर्सको प्राविधिक सहयोगमा काम शुरु गरेको हो ।
अध्यक्ष पन्तका अनुसार ‘यस प्रणालीबाट वडाको आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य,रोजगारीको अवस्थाका साथै सार्वजनिक स्थल, नक्सांकन लगायत पूर्वाधारको जानकारी हुनुका साथै वडाको योजना निर्माण तथा समस्या पहिचानमा टेवा पुग्नेछ ।
प्रोफाईलमा जिपिएस सिष्टम लागु भएपछि हरेक घरको ठेगाना मोबाइलबाट नै थाहापाउन सकिने छ । एपबाट प्रोफाईलमा घरमुलीको नाम, फोटो र घरको फोटो समेत राखिनेछ ।
तथ्याङ्क संकलनका लागि तालिम दिएर वडाका २२ वटा टोल विकास संस्थामा २५ जना गणकहरु खटाईएको पन्तले जानकारी दिनुभयो । ६० वटा भन्दा बढी प्रश्नावली रहेको एपमा वडाले करीब दुईमहिना भित्र झण्डै चारहजार घरधुरीको विवरण संकलन गर्ने लक्ष्य लिएको छ ।
‘डिजीसफ्टका प्रबन्ध निर्देशक बुद्धि डंगोलले देशभरीका ३५ वटा पालिकाका ५५० वटा बढी वडाहरुमा कम्पनीले यो एपबाट प्रोफाइल तयार पारेको र भरतपुरको वडा नम्बर वडामा दोस्रो पटक प्रोफाइलको काम गर्न लागिएको बताउनु भयो । ‘गत बर्ष हामीले भरतपुरकै वडा नम्बर २ बाट प्रोफाइल निर्माण शुरु गरेका थियौं , हालैमात्र वडा नम्बर १२ को काम शुरु गरेका छौं,, उहांँले भन्नुभयो, त्यसपछि रत्ननगर नगरपालिकामा पनि शुरु गर्नेछौं । वडालाई डिजिटलाईजेसनमा समावेश गरेपछि हरेक विवरण हरेक बर्ष वडा बाटनै अध्यवधिक गर्न सकिने कम्पनीले बताएको छ । प्र्रोफाईल तयार भएपछि वडा नम्बर १२ को औषत प्रति व्यक्ति आयको समेत जानकारी हुने कम्पनीका प्रबन्ध निर्देशक डंगोलको भनाई छ ।
एपको माध्यमबाट वडालाई जुनुसुकै काम गर्न सहज हुने र कसैलाई पनि तथ्यांकबाट अध्ययन अनुसन्धान सहजै गर्न सकिनेछ । एप्समा हरेक घर परिवारको व्यक्तिगत तथा सम्पत्तिको विवरण लगायतका सूचकलाई गोपनियता कायम गरिएको समेत उहांँले बताउनु भयो ।
यस प्रविधिबाट प्रत्येक वडावासीको विवरण दुरूस्त तत्काल थाहा पाउन, डेटा अपडेट र बजेट विनियोजनका लागि सजिलो बनाउन, तुरून्तै र प्रभावकारी सेवा प्रदान गर्न, खर्च र समय बचतको लागि पनि टेवा पुग्नेछ । प्रोफाइलको कामलाई छिटो चुस्त दुरुस्त बनाउन गणकलाई सही जानकारी दिएर सहयोग गर्न समेत वडा अध्यक्ष पन्तले आग्रह गर्नुभएको छ ।