चितवन । गैँडाकोट स्थित नारायणी नदी किनारमा दोस्रो गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव २०८१ हुने भएको छ । स्थानीय उत्पादनको प्रर्वद्धनको साथै व्यवसायलाई प्रर्वद्धन गर्ने उद्धेश्यसहित कात्तिक २३ देखि मंसिर १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले शनिबार गंैंडाकोटमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै उद्योग वाणिज्य महासंघ,गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले थलिएको पर्यटनलाई उकास्न तथा स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको बताउनु भयो । ‘कोरोना पछि सबै उद्योग,व्यवसाय क्षेत्र तहसनहस भयो । सयौं व्यवसाय बन्द भए, अध्यक्ष भट्टचनले भन्नुभयो , यस महोत्सवले केही राहत र आर्थिक चलायमान हुन मदत गर्ने विश्वास लिएका छौं ।’
अध्यक्ष भट्टचनले अघिल्लो बर्षभन्दा महोत्सव केही पृथक हुने र यसबर्ष कृषि क्षेत्रलाई बढी प्राथमिकता दिने उहांँले बताउनु भयो । ‘अहिले हाम्रो कृषि क्षेत्र प्राथमिकतामा पर्दछ, यसको प्रर्वद्धनको लागि ३० देखि ५० वटा स्टल निःशुल्क गर्ने भएका छौं ।’ उहांँले भन्नुभयो ।
‘आर्थिक विकासको मूल आधार कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मुल नाराका साथ आयोजित मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको सभावनाको खोजी तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्य रहेको महासंघका अध्यक्ष भट्टचनको भनाई छ ।
महोत्सवमा करिब ३ सयवटा स्टलहरु रहने बताईएको छ । महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको स्टलहरु रहने आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम र बाल उद्यान पनि समावेश गरिने बताइएको छ ।
समुद्घाटनको अवसरमा विभिन्न जातजाति र संस्कृति झल्कने झाँकीहरु प्रदर्शन गरिने छ ।मेलामा १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । सो टिकट खरिद गर्दा मौलाकाली केबलकारमा ५० प्रतिशत छुट सुविधा दिईने भट्टचनले बताउनु भयो । विद्यार्थीलाई ५० र ७० वर्ष माथिकालाई निशुल्क गरिएको छ ।मेलामा १ करोड ४० लाख खर्च अनुमान गरिएको छ भने ३० लाख बचत हुने अपेक्षा गरिएको छ ।