चितवन । चितवनको भरतपुरमा इन्टरनेशनल हेरिटेज म्याराथन सम्पन्न भएको छ। रोटरी क्लब अफ चितवनको आयोजनामा भरतपुर भ्रमण वर्षको अवसर पारेर भरतपुर महानगरपालिका–२३ को घैलाघारीबाट भरतपुर २८ स्थित मेघौलीको तेलौली बजार पुगेर प्रतियोगिता सम्पन्न भएको थियो । १४ किलोमिटरको दुरी तय गर्नुपर्ने उक्त इन्टरनेशनल हेरिटेज म्याराथनमा पुरुषतर्फ सञ्जय श्रेष्ठ र महिलातर्फ प्रजिता श्रेष्ठ प्रथम भएका थिए । उनीहरुले निर्धारित दूरी क्रमशः ४५ मिनेट १६ सेकेण्ड र ५६ मिनेट ११ सेकेण्डमा पार गरेका थिए ।
यस्तै पुरुषतर्फ दोस्रो स्थानमा राजेन्द्र तामाङले ४५ मिनेट १७ सेकेण्ड, तेस्रो स्थानमा रत्नबहादुर खत्रीले ४५ मिनेट २५ सेकेण्डमा र चौथो स्थानमा धीरबहादुर बुढाले ४६ मिनेट ५९ सेकेण्डमा निधारित दूरी पार गरेका हुन ।
यस्तै महिलातर्फ दोस्रो स्थानमा फूलमति रानाले ५६ मिनेट २६ सेकेण्डमा पार गर्दा आशा रानाले ५८ मिनेट २९ सेकेण्डमा पार गरेर तेस्रो भइन भने राज्यलक्ष्मी रानाले ५७ मिनेट ३८ सेकेण्डमा पार गरेर चौथो स्थान हासिल गरिन ।
महिला पुरुष दुवैतर्फ विजेतालाई क्रमशः रु ३० हजार, रु २० हजार, रु १० हजार र रु पाँच हजार नगदसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । म्याराथनमा ४ सय ५० जना सहभागी भएकोमा १ सय नौ जनाले पुरा दुरी पार गरेका थिए ।
प्रतियोगितामा युके, युएसए, कम्बोडिया, साउथ सुडान, जर्मनी, अष्ट्रेलिया, थाइल्यान्ड लगायत १९ देशका गैरआवासीय नेपाली प्रतियोगीहरु सहभागी रहेका कार्यक्रम आयोजक चितवन रोटरी क्लब का अध्यक्ष भानु शर्माले जानकारी दिनुभयो ।
प्रमुख अतिथि समेत रहनुभएका सांस्कृतिक पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री प्रसाद पाण्डे यस्ता कार्यक्रमले आपसी एकता, सद्भाव एवं स्वास्थ्यप्रतिको चिन्तनसँगै पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग गरेको बताउनुभयो । स्वास्थ्य व्यक्तिले स्वास्थ्य समाज र मुलुक निर्माण गर्नसक्ने भन्दै यस्ता कार्यक्रमको महत्व धेरै हुने गरेको उहाँको भनाई थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जिल्लाको अर्थतन्त्रलाई चलायमान गराउन भ्रमण वर्षको आयोजना गरिएको बताउनुभयो । भ्रमण वर्षमा गरिने भनिएका कार्यक्रममध्ये अहिलेसम्म ५५ वटा कार्यक्रम सम्पन्न भइसकेको भन्दै उहाँले महानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, कार्यक्रमका संयोजक राजन पियाले लगायतले बोल्नुभएको थियो ।