काठ्माण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएका छन्। उनले ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिजपछि नेपाली टिमको प्रशिक्षकबाट राजीनामा दिने भन्दै नेपाल क्रिकेट संघ (क्यान) लाई इमेल लेखेका छन्।
उनले क्यानलाई इमेल पठाएको क्यान स्रोतले पुष्टि गरेको छ। इमेलमा उनले व्यक्तिगत कारणले राजीनामा दिएको इमेलमा लेखेका छन्। महामारीको अवस्थामा आफूले परिवारलाई समय दिने भन्दै उनले क्यानलाई इमेल लेखेका छन्। साथै उनले नेपाली क्रिकेट टिमको प्रशिक्षक भएर काम गर्दा पाउँदा खुसी लागेको पनि लेखेका छन्।
हाल वाटमोरसहितको नेपाली टिम ओमानमा छ। ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमानमा छ।
ओमान सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुनेछ। त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ। सो सिरिजपछि वाटमोरले नेपाली टिम छाड्नेछन्। यसअघि उनी गत पुसमा नेपाली टिमको प्रशिक्षकमा नियुक्त भएका थिए।