चितवन । एपिएफ फुटबल क्लब काठमाडौं गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार सम्पन्न खेलमा १० खेलाडीमा सीमित वीरगन्ज युनाइटेडविरुद्ध सहज जित हात पार्दै एपिएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । एपिएफको जितमा बिके तमाङले दुई तथा बुद्धिमान राईले एक गोल गरे ।
खेलको ४१ औं मिनेटमा बुद्धिमानको गोलमा एपिएफले अग्रता लिएको थियो । दोस्रो हाफमा वीरगन्ज १० खेलाडीमा सीमित भयो । वीरगन्जका गोलकिपर दिलमणी चौधरीले ४९ औं मिनेटमा रातो कार्ड खाए । लग्गतै ५४ औं मिनेटमा दोस्रो हाफमा मैदान छिरेका बिकेले गोल गरेपछि एपिएफले अग्रता दोब्बर बनायो ।
७३ औं मिनेटमा बिकेले व्यक्तिगत दोस्रो गोलपरेपछि एपिएफ ३–० ले विजयी भयो । एपिएफका विश्वास उदास म्यान अफ दि म्याच भए । प्रतियोगितामा सोमबार पनि एक खेल हुनेछ । सोमबार दिउँसो ३ः३० बजे सूर्यपुर एफसी र सल्हेस एफसी सिराहा भिड्नेछन् ।
असोज १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १५, विधागत उत्कृष्टले १० तथा म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट ईन्टरनेशनल तथा सह प्रायोजकमा हानामी ईन्टरनेशनल एजुकेसन रहेका छन् । बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका र चितवन जिल्ला फुटबल संघ प्रतियोगिताको प्रवर्द्धक संस्था हुन् ।