भरतपुर । नेपाल घरवहाल उपभोक्ता मञ्च चितवनको १३ औं वार्षिक साधारणसभा सोमबार नारायणगढमा सम्पन्न भएको छ । सोमबार मञ्चका अध्यक्ष जनकलाल कट्टेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रमका बोल्ने अधिकांश वक्ताहरुले घरवहाल कर घरधनीले नै तिर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका बोल्दै प्रमुख अतिथी अधिकारीले घरवहाल कर भरतपुर महानगरको आम्दानीको मुख्य स्रोतहरुमध्येको एक भएको वताउनु भयो । भरतपुर महानगरपालिकाले लिदै आएको वहाल कर गतवर्षवाट घटाएर ७ प्रतिशत बनाएको जानकारी दिँदै उहाँले सवै घरधनीहरुलाई करको दायरामा ल्याउने गरि योजना बनाएको वताउनु भयो । वहाल लेनदेनको यथार्थ विवरण पेश गर्ने र सोहि अनुसार वहाल कर तिर्ने हो भने वहालकरको दर अझै कम गर्दा पनि धेरै राजश्व संकलन गर्न सक्ने कुरामा भरतपुर महानगरपालिकाको ध्यान आकर्षण भएको वताउनु भयो ।
मञ्चका महासचिव सुरेन्द्र केसीले संचालन गर्नु भएको कार्यक्रममा प्रथम उपाध्यक्ष विक्रम सापाकोटाले सस्थाको परिचय सहित स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा घरवहाल सरोकार महासंघका केन्द्रिय अध्यक्ष नवराज न्यौपाने, नेपाल घरवहाल उपभोक्ता मञ्च चितवनका निर्वतमान अध्यक्ष ख्यामनारायण पराजुली, सस्थापक अध्यक्ष हेमराज पौडेल, पुर्व अध्यक्ष हरि शर्मा पौडेल, सल्लाहकार इमान्दु बराल, फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष शंकर घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।