चितवन । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) को विशेषज्ञ सेवा नवलपरासीको देवचुली नगर अस्पतालबाट शुरु भएको छ । दुई अस्पतालबीच यस सम्बन्धी सम्झौता भएको हो ।
देवचुली नगर पालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको बिशेष पहलमा विशेषज्ञ स्वास्थ्य सेवा सम्बन्धि पुरानो मेडिकल कलेजका उपनिर्देशक प्रा.डा.राजेशकुमार यादव र देवचुली नगर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विद्या भुसालले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार प्रत्येक महिनाको पहिलो र तेस्रो आईतबार पुरानो मेडिकल कलेजका अर्थाेपेडिक्स विभागका विशेषज्ञ डाक्टरले देवचुली अस्पतालबाट सेवा दिनु हुनेछ । यसैगरी हरेक साता बुधबार नाक–कान–घाटी र छाला तथा यौन तथा कुस्ठरोग विशेषज्ञले सेवा प्रदान गर्नुहुनेछ ।
आवश्यकता अनुसार समय समयमा निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतताका लागि प्राविधिक सहयोग समेत पुरानो मेडिकल कलेजले उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।
बहिरंग सेवा प्रदान गर्नका लागि आवश्यक कोठा , भवन, फर्निचर र आधारभूत उपकरण देवचुली अस्पतालले व्यवस्था गर्नुपर्ने सम्झौता भएको छ । यस्तै सेवा प्रदान गर्दा प्रेषित औषधि तथा जाँचहरु देवचुली अस्पतालले व्यवस्था गर्नु पर्नेछ । देवचुली अस्पतालमा सम्भव नहुने उपचारका लागि माथिल्लो निकायमा रिफर गरिने सम्झौतामा जनाईएको छ ।
पुरानो मेडिकल कलेजका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा यादवले आवश्यकता अनुसार भविष्यमा अन्य सेवा थप गर्दै लैजाने समेत बताउनुभयो ।