चितवन । पछिल्ला बर्षहरुमा होटल व्यवसाय क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएको व्यवसायीहरुले गुनासो गरेका छन । शनिबार भरतपुरमा चितवन होटल व्यवसायी संघको २८ औं साधारण सभामा सहभागी बक्ताहरुले यस्तो बताएका हुन् ।
सो अवसरमा बोल्दै होटल व्यवसायी महासंघका अध्यक्ष दिनेश कुमार चुकेले आर्थिक गतिविधि सुस्ताएसंँगै होटल व्यवसायमा जनशक्ति अभाव र ग्राहक समेत घटेको बताए । ’अहिले होटल व्यवसायमा हामीले मान्छे पाउन गाह्रो भइसक्यो, दुईचार महिना काम गरे बिदेश जान्छन उनले भने, नत ग्राहकनै छन ।’ स्थानीय तह, संघले होटल व्यवसायी सम्बन्धि तालिम दिएर जनशक्ति तयार गरेपनि उनीहरु केही महिनापछि बिदेशनै गएको उनले गुनासो गरे । उनले पर्यटन ऐन नबनेको कारण पनि कयौं होटलहरु दर्ता हुन नपाएको बताए । चितवनमा मात्रै २०० भन्दा बढी होटल ऐनकै कारण दर्ता हुन नसकेको उनको भनाई थियो ।
उद्योग वाणिज्य संघका कार्यबहाक अध्यक्ष चिरञ्जिवी सुबेदीले भरतपुर भ्रमण बर्ष चलिरहंँदा २४ सै घण्टा होटल व्यवसाय खोल्नु पर्नेमा जोड दिए । आर्थिक मन्दीका कारण होटल व्यवसायी समेत पलायन हुनुपरेको भन्दै उनले सरकारले व्यवसायीलाई करमा छुटदिनुपर्ने बताए । उनले उद्योगी व्यवसायीको सहजताको लागि उवासंघ, चितवनले आन्तरिक राजश्व कार्यालयमा सहायता कक्ष राखेको उल्लेख गर्दै दोहोरो कर नलगाउन आग्रह गरे । उनले होटल व्यवसाय क्षेत्रमा मात्रै नभई अन्य उद्योग व्यवसाय क्षेत्रमा समेत दक्ष जनशक्ति अभाव हुंँदै गएको बताए ।
संघका अध्यक्ष लोकनाथ भट्टले होटल व्यवसाय क्षेत्रमा जनशक्ति अभाव हुंँदै जांँदा भारतबाट जनशक्ति ल्याउनु पर्ने बाध्यता भईसकेको बताए । ‘एकत व्यापार छैन अर्को कुरा दक्ष जनशक्ति पनि छैन ।’ उनले भने । भट्टले घरबहाल कर २० प्रतिशत घटाउनु पर्ने, अनुगमनको नाममा छापामार शैलीमा आतंक नफैलाउन आग्रह गरे ।
प्रमुख अतिथि भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले भरतपुर भ्रमण बर्ष सफल बनाउन नीजि क्षेत्रको भुमिका उत्तिकै रहेकोले जायज मागलाई सम्बोधन गरिने बताईन् । उनले भरतपुर भ्रमण बर्षलाई लक्षित गरी सञ्चालनमा आएका नयांँ गन्तव्यहरुमा पर्यटकको आकर्षण बढेको बताईन । ‘खुलेको एक महिनामै दियालो वंगला दरबारमा १० हजार पर्यटक आइसकेका छन , हाम्रो लक्ष्य पुरा गर्न नेपालका सिमा क्षेत्रबाट धार्मिक पर्यटक र चीनमा गएर भरतपुर भ्रमण बर्षको प्रर्वद्धन गर्नुपर्छ ।’ उनले भरतपुर भ्रमण बर्ष २०२४को प्रर्वद्धन गर्न कार्तिकमा धार्मिक महोत्सव समेत गर्न लागिएको जानकारी दिइन ।
होटल व्यवसायी संघ चितवन मझौला खालका व्यवसायीहरुको साझा संघ हो । संघमा पर्यटकीय स्तरीय होटल बाहेक दुईहजार बढी होटलहरु आवद्ध छन ।