चितवन । कृष्ण अष्टमीको दिन भरतपुरमा रोपाई जात्रा हुने भएको छ । नारायणी कलामन्दिर नारायणगढको आयोजनामा भरतपुरमा भदौ १० गते एकदिने रोपाइँ जात्रा हुने भएको हो । बिशषेशगरी नेवारी समुदायले मनाउंँदै आएको यो जात्रा नेपाली मौलिककला, साहित्य र संस्कृतिको संरक्षण गर्ने हेतुले सकार्यक्रम आयोजना गर्न लागिएको रोपाइँ जात्राका संयोजक अनुकुल श्रेष्ठले जानकारी दिनुभयो ।
कृषि पेशामा आधारित नेपाली जनजीवनको सजिव चित्रण प्रस्तुत गरिने यो जात्रा नेपाली सरक्तिको एउटा उत्कृष्ट प्रतिविम्व हो । आ–आफ्नो खेतमा रोपाइँ सकेर क्वाँटी खाएर जीवनलाई नयाँ स्फूर्ति दिई शारीरिक रूपले समेत सक्षम भई भाद्र कृष्णाष्टमीको दिन आनन्द पूर्वक यो जात्रा मनाउने प्रचलन रहेको श्रेष्ठले बताउनु भयो ।
मनोविनोदको लागि मात्र नभई यो जात्रा सामाजिक सहिष्णुता र भातृत्वभाव बढाउने सुन्दर अवसर रहेको छ । यावत दुःख र कष्ट भुलेर पनि मानिसहरू आफ्नो दायित्व निर्वाह पश्चात् निर्धक्कसँग फुर्सद लिएर निर्भयरूपले यो जात्रा मनाउने प्रचलन रहेको नारायणी कलामन्दिरका अध्यक्ष रोहित कुमार श्रेष्ठले बताउनु भयो ।
“कर्म गुर फलको आशा नगर“ भन्ने भगवान् श्रीकृष्णको सन्देश छर्ने यो जात्रा सुख, शान्ति अनि प्रेम र सद्भाव छर्ने पर्वको रूपमा समाजले स्वीकारी सकेको महत्वपूर्ण पक्ष रहेको र पञ्चेवाजाको धुनमा रोपाइँ गर्दै मनोरञ्जन गरिने यो जात्रा नेपाली मात्रको धमनी हो र यसलाई जीवन्त राख्नु हामी सबैको धर्म र कर्तव्य रहेको श्रेष्ठले बताउनुभयो ।
जात्रा भदौ १० गते बिहान ८ बजेदेखि नारायणी कलामन्दिर, बालकुमारी चोक, मिलनरोड, शहिदचोक, पुल्चोक मेनरोड हुँदै पुनः नारायणी कलामन्दिरमा आएर सम्पन्न हुने रोपाइँ जात्रा संयोजक श्रेष्ठले बताउनुभयो ।
लोप हुन लागेको पञ्चेबाजाको तालमा असारे गीत गाएर रोपाइँको झझल्को दिने गरी बिच सडकदेखि बजारमा अघि अघि गोरु, अनि हली र बाउसे तथा पछि–पछि रोपाहारले धान रोपाइँ गरे झै गर्ने यो जात्राको मुख्य आकर्षण रहेको हुन्छ। यस जात्रामा पुरुषले महिलाको पहिरन लगाएर धान रोपाइँ गर्ने गर्दछन।