चितवन । गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको सह आयोजकमा हानामी इन्टरनेशनल एजुकेसन रहने भएको छ ।
प्रतियोगिताको आयोजक भरतपुर फुटबल क्लब बिएफसी र हानामी इन्टरनेशनल एजुकेसनबीच आज (आइतबार) प्रायोजन सम्झौता भएको हो । सम्झौता पत्रमा क्लबका तर्फबाट प्रतियोगिता संयोजक धुर्व भुसाल र हानामीको तर्फबाट प्रवन्ध निर्देशक किशोर सुवेदीले हस्ताक्षर गरे ।
सम्झौता अनुसार हानामी प्रतियोगिताको सह आयोजक र प्रायोजक रहनेछ । सो क्रममा हानामीका प्रवन्ध निर्देशक सुवेदीले प्रतियोगिताको सफलताको कामना गरे । गोल्डकपलाई मोसफलकै प्रतिष्ठित र भव्य बनाउन आवश्यक थप सहयोग गर्न तयार रहेको पनि उनले बताए । हानामीले यस अघिदेखि नै भरतपुर फुटबल क्लबलाई प्रायोजन गर्दै आएको छ । हानामीले अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई परामर्श दिदै आएको छ ।
नेपाल प्रहरी शिक्षालय (तालिमकेन्द्र) को मैदानमा हुने प्रतियोगिता असोज ३ देखि १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा ए डिभिजन लिग, नेपाल सुपर लिग एनएसएल खेल्ने क्लब र मफोसलका गरी १० टोली सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा यस अघि नै गोल्डेन ईमिनेन्ट इन्टरनेशनलसँग सम्झौता भइसकेको छ । गोल्डेन ईमिनेन्टले दक्षिण कोरिया अध्ययनका लागि जाने विद्यार्थीहरुलाई परामर्श दिदै आएको छ ।