सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाली बहुराष्ट्रिय व्यापारिक घरान सामसङ गु्रपले २ खर्ब ५ अर्ब डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ ।
कम्पनीले सेमिकन्डक्टर देखि चिपसम्मका विविध प्रविधिमा आफूलाई अग्रणी बनाउन सो लगानी गर्न लागेको हो । यो लगानीबाट करीब ४० हजार नयाँ रोजगारी सृजना हुने अपेक्षा गरिएको छ ।
यस योजनाले मुख्य उद्योगहरुमा विश्वभर कम्पनीको उपस्थिति बलियो बनाउन मद्दत गर्ने एक विज्ञप्तिमा सामसङ भनेको छ । कम्पनीले कर्पोरेट एक्विजशन गर्ने कोशिश पनि गर्ने बताइएको छ । चिप उद्योगमा भने कम्पनीले अस्थायी परिवर्तन भन्दा पनि दीर्घकालीन माग पूर्ति गर्न प्रविधिको विकास गर्न खोज्ने छ ।
समूहले सामसङ बायोलोजिक्स र सामसङ बायोइपिष्टद्वारा सञ्चालित बायोफर्मा व्यवसायहरुलाई विस्तार गर्न पनि खोजेको छ । कुल २ हजार ४०० खर्ब वन (२ खर्ब ५ अर्ब डलर)मध्ये १ हजार ८०० खर्ब वन लगानी दक्षिण कोरियामा गरिनेछ । यसबाट घरेलु स्तरमा १० हजार रोजगारी सृजना हुनेछ ।
भ्रष्टाचार घोटालामा अदालतले तोकेको जेल सजायमध्ये आधा सजाय भोगेपछि सामसङका अध्यक्ष जेलबाट परोलमा निस्किएको केही दिनमै कम्पनीले यो घोषणा गरेको हो । दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्यून–हेई सम्बन्धित भ्रष्टाचार घोटालामा घूस दिएको, अपचलन गरेको र अन्य अभियोगमा लिलाई साढे २ वर्षको जेल सजाय सुनाइएको थियो । रासस/एएफपी