चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित अङ्कुरम् एकेडेमीमा पहिलो संस्करणको ‘अङ्कुरम नमुना संयुक्त राष्ट्रसंघ’ कार्यक्रम आजदेखि शुरु हुने भएको छ ।
पहिलोपटक आयोजना हुन लागेको अङ्कुरम्–नमुना संयुक्त राष्ट्रसंघ (अङ्कुरम्–मोडेल युनाइटेड नेसन (एएमयुएन) कार्यक्रममा चितवनसहित अन्य जिल्ला समेत गरी प्रतिनिधिहरुसहित २८० विद्यार्थीहरुको सहभागिता रहने विद्यालयले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । उक्त नमुना अभ्यास कार्यक्रममा २३८ जना प्रतिनिधिले संयुक्त राष्ट्रसंघका छवटा अङ्गहरुमध्ये पाँचवटा अङ्गमार्फत विभिन्न देशको प्रतिनिधित्व गर्ने बताईएको छ ।
देशभरका विभिन्न विद्यालयबाट सहभागी प्रतिनिधिहरुले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (युएनएससी), संयुक्त राष्ट्रसंघ पर्यावरण कार्यक्रम (युएनइपी), संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् (युएनएचसीआर), संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को प्रतिनिधित्व गर्ने कार्यक्रम तय भएको एएमयुनका महासचिव सहप्राचार्य ओमराज मैनालीले जानकारी दिए । उनका अनुसार ती पाँचवटा अङ्गहरुको प्रतिनिधित्व गर्ने प्रतिनिधि आवासीय र गैरआवासीय गरी दुई किसिमका रहेको छ ।
उक्त अभ्यास कार्यक्रमबाट विद्यार्थीमा अनुसन्धान गर्ने बानीको विकास, वादविवाद गर्ने क्षमताको विकास, कुटनीतिक सीपको विकास, समालोचनात्मक चिन्तनको विकास, सामाजिकीकरण र विश्वव्यापी समस्याहरुको जानकारी लिने क्षमताको विकास हुने कार्यक्रमका सल्लाहकार प्राचार्य सुमन पौडेलले बताए ।
कार्यक्रममा राष्ट्रसंघका सम्बन्धित अङ्गहरुको प्रतिनिधित्व गर्ने प्रतिनिधिले सोको क्षेत्राधिकार र काम, कर्तव्यबारे अनुसन्धान गर्ने, इतिहास र वर्तमानको अध्ययन गर्ने र विश्वव्यापी समस्याको समाधानका लागि भविष्यमा लागू गर्नुपर्ने कार्यक्रमहरुको पनि तय गर्ने कार्यक्रमका चेयर कक्षा १० का विद्यार्थी अविश्या कार्कीले जानकारी दिइन् ।
अभ्यास गर्न लागिएका संयुक्त राष्ट्रसंघका पाँचवटा अङ्गहरुमध्ये प्रत्येक अङ्गमा ४५ जना विद्यार्थीको प्रतिनिधित्व रहनेछ भने प्रत्येक अङ्गका प्रतिनिधिले विभिन्न देशको प्रतिनिधित्व गर्ने कार्यक्रम संयोजक अर्जुन जी शर्माले जानकारी दिए । ।
जसमध्ये संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्का प्रतिनिधिले जातिवाद उन्मूलनका लागि जात व्यवस्थाविरूद्ध लड्ने रणनीति तय गर्ने, संयुक्त राष्ट्रसंघ पर्यावरण कार्यक्रम (युएनइपी)का प्रतिनिधिले प्लास्टिकका अवशेष र पानीमा यसको मिसावटले पार्ने प्रभावलाई कम गर्ने रणनीति तय गर्नेछन् ।
विभिन्न जिल्लाबाट सहभागी हुने प्रतिनिधिहरुले वर्तमानका विश्वव्यापी समस्याहरुको अध्ययन गरी ती समस्याहरुको समाधानका बारेमा समेत सुझाईनेद्ध । तीन दिन सम्म चल्ने कार्यक्रम आइतबार समापन हुनेछ ।