बीबीसी । तालिबानको कब्जापछि देश छोडेकी अफगानिस्तानकी पप स्टार अर्याना सइदले पाकिस्तानको आलोचना गर्दै भारतलाई धन्यवाद दिएकी छन् । समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा उनले अफगानिस्तानको तर्फबाट भारतलाई आभार व्यक्त गर्र्दै धन्यवाद दिन चाहेको बताइन् । उनले पछिल्लो केही वर्षमा छिमेकमा असल साथी भारतमात्रै भएको महसुस गरेको पनि बताएकी छन् ।
“भारतले हामीसँग सधैँ राम्रो व्यवहार गरेको छ । भारतीयहरू हाम्रा असल मित्रहरू हुन् । उनीहरू धेरै सहयोगी छन् । र, भारतम शरणार्थीको रूपमा रहेका हाम्रो मानिसहरूप्रति दयालु छन् । भारतमा भेटेका हरेक अफगान व्यक्तिहरूले भारतीय मानिसहरूका लागि राम्रो नै भनेका छन्,” अर्याना भन्छिन् ।
भारतीयहरूको तारिफ गर्दै उनले पाकिस्तानले अफगानिस्तानको राजनीतिमा हस्तक्षेप गरेको आरोप पनि लगाएकी छन् ।
पाकिस्तानविरुद्ध बोल्दै अर्याना भन्छिन्, “केही सालदेखि अहिलेसम्म हामीले यस्तो भिडियो र प्रमाण हेरेका छौँ, जसले तालिबानलाई सशक्त गर्नेमा पाकिस्तानको हात भएको बताउँछ । जबजब हाम्रो सरकारले कोही तालिबानलाई पक्रन्छ, उसको पहिचान पाकिस्तानी नै हुन्छ । यो उनीहरू नै हुन् भन्ने स्पष्ट छ ।”
यसका साथै अर्यानाले अन्तर्राष्ट्रिय समुदायसँग पाकिस्तानमाथि दबाब बनाइराख्न र तालिबानलाई दिँदै आइरहेको फन्डिङ रोक्न पनि माग गरेकी छन् ।
“मलाई आशा छ कि अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानमा शान्ति ल्याउन समाधान खोज्ने छन् । मलाई यो पनि आशा छ कि उनीहरूले पाकिस्तानमाथि दबाब बनाउन सक्छन्” उनी भन्छिन्, “अफगानिस्तानमा हामीले जुन ठूलो समस्याको सामना गरिरहेका छौँ, यसको कारण पाकिस्तानको हो । हामीलाई थाहा छ, तालिबानलाई पाकिस्तानले फन्ड दिँदै आएको छ ।”
अन्तर्राष्ट्रिय समुदायप्रति गुनासो
समाचार एजेन्सी एएनआईसँग अन्तवार्ता दिँदै उनले सुरुवातमै अन्तर्राष्ट्रिय समुदायको व्यवहारलाई लिएर निराशा व्यक्त गरिन् । अन्तर्राष्ट्रिय समुदायले अफगान नागरिकलाई एक्लै छाडेपछि तालिबानले देश आफ्नो नियन्त्रयणमा लिएको उनको गुनासो छ ।
अमेरिकालाई संकेत गर्दै उनले भनिन्, “शक्तिशाली देश त्यहाँ (अफगानिस्तान) मा गए । र, उनीहरूले त्यहाँ जानुको कारण अलकायदा र तालिबानबाट छुटकारा दिनु भएको बताए । २० वर्षपछि, अरबौँ डलर खर्च गरेर र कैयौँ जवानहरूलाई मारेपछि एकाएक अफगानिस्तान छोड्ने फैसला गरे । यो अच्चमको कुरा हो ।”
यसका साथै अर्यानाले अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ गनीले देश छोडेकोप्रति पनि असन्तुष्टि जनाइन् ।
आगामी योजना
अर्याना ६ दिन पहिले अमेरिकी वायु सेनाको विमानबाट आफ्नो देश छोडेकी थिइन् । अर्यानाले आफ्नो करियर जारी राख्ने बताएकी छन् । उनले देशबाहिर रहेरपनि अफगानिस्तानको आवाज बनिरहने र अफगान नागरिकलाई सहयोग गर्न प्रयास गरिरहने प्रतिबद्धता जनाएकी छन् ।