तनहुँ । व्यास नगरपालिका–१ भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको लगानीमा निर्माण हुँदै गरेको मादीनदी लिफ्ट खानेपानी आयोजना एक वर्ष ढिलाइ भएको छ ।
निर्माणका लागि ठेक्का पाएको पराजुली कन्स्ट्रक्सनले विसं २०८० भदौभित्र सम्पन्न गर्नेगरी २०७९ भदौमा सम्झौता गरेको एक वर्ष बित्दा पनि आयोजनाको काम पूरा हुनसकेको छैन । सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण भइरहेको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार रु २६ करोड २५ लाख आयोजनामा २७ प्रतिशत घटिघटाउ बोलपत्रमा गई रु १९ करोड लागतमा आयोजना निर्माण अघि बढाइएको हो । व्यवस्थापक श्रेष्ठले भन्नुभयो, “आयोजनाको निर्माणकार्य ढिलाइ हुँदा पानी आपूर्तिमा कठिनाइ भोग्नुपरेको छ, अबको तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।”
व्यास नगरपालिका–४ चुरेखोल्सीस्थित मादीनदी किनारबाट करिब पाँच किलोमिटर दूरीबाट पानी ल्याएर वडावासीलाई पानी वितरण गर्न लागिएको हो । मादीबाट ल्याइएको पानी व्यास–१ स्थित अमिलीभञ्ज्याङमा चार लाख र सोही वडाको भदु्रडाँडामा ५० हजार गरी चार लाख पचास हजार लिटर क्षमताको गरी दुईवटा ‘रिर्जभ’ ट्याङ्कीमा पानी सङ्कलन गरी वितरण गरिने सो संस्थाले जनाएको छ ।
संस्थाका सचिव राजेश्वर हड्खलेका अनुसार संस्थाले ट्याङ्की निर्माणका लागि दुई रोपनी जग्गा खरिद र करिब तीन रोपनी सार्वजनिक जग्गा गरी करिब पाँच रोपनी जग्गा प्रयोगमा ल्याई आवश्यक भौतिक संरचना निर्माण गरिरहेको छ ।
उक्त मादीनदी लिफ्टबाट प्रतिसेकेण्ड २६ लिटर पानीको क्षमताको रहने बताइएको छ । पानी सङ्कलनका लागि फिल्टर प्लान्ट र मुख्य प्लान्ट निर्माणकार्य यसअघि नै सम्पन्न भइसकेको छ । विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट सुरुआत गरेको संस्थाले हालसम्म दुई हजार छ सय बढी निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ ।
व्यास नगरपालिका–१३ स्थित करादी खिरखादी मुहानबाट करिब १३ किमी लामो दूरीबाट ल्याएको खानेपानी आपूर्ति हुँदै आएको छ । संस्थाले हाल प्रतिसेकेण्ड १७ लिटर पानी सङ्कलन गरी व्यास–१ का २५ टोल र व्यास–१२ को एक टोलका उपभोक्तालाई वितरण गर्दै आएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस क्षेत्रमा बस्ती विस्तार हुँदै गएपछि पानीको स्रोतले धान्न नसकेपछि वैकल्पिक खानेपानीको रूपमा मादीनदी लिफ्टिङ खानेपानी आयोजनाको निर्माण अघि बढाएको हो । उक्त आयोजनाअन्तर्गत ५२ किमी दूरीमा शाखा पाइप लाइन बिछ्याइने कार्य सकिएको छ । उहाँले भन्नुभयो, “मुख्य पाइप लाइनका केही स्थानमा पाइप बिछ्याउने कार्य भइरहेको छ, निर्माणकार्यलाई तीव्रता दिइएकाले छिट्टै सम्पन्न हुने अपेक्षा गरिएको छ ।” संस्थाले हाल दुई हजार छ सय ८० घरमा पानी वितरण गर्दा २१ हजार बढी उपभोक्ता लाभान्वित हुँदै आएका छन् । रासस