चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन सहितका तीन जिल्लाको विकासका लागि बृहत्तर योजना ल्याउनुपर्ने बताउनुभएको छ ।
भरतपुर मेट्रो प्लाजा (बहुउद्देश्यीय भवन) को आज यहाँ शिलान्यास समारोहमा बोल्नुहुँदै उहाँले चितवन, नवलपुरको दाइउन्नेसम्म र मकवानपुरको हेटौँडालाई जोडेर एउटै विकास प्राधिकरणको अवधारणा अन्तर्गत काम गर्नुपर्ने बताउनुभएको हो ।
यी जिल्ला मिलाएर विकासको मोडालिटिमा जाँदा यहाँको शिक्षा, पर्यटन, कृषि, धार्मिक पर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको क्षेत्र बन्ने उहाँले बताउनुभयो ।
नेपालको परम्परागत राज्य व्यवस्था र संरचनाका कारण निजी क्षेत्रलाई सकारात्मक ढङ्गले हेर्ने काम नभएका कारण विकासमा पछि परिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “निजी क्षेत्रलाई सकारात्मक ढङ्गले हेर्ने र उनीहरूसँग भएको साधन स्रोत र क्षमताको अधिकतम प्रयोग गर्न उदारतापूर्वक आउने गरेको इतिहास होइन । हाम्रो पुरै नकारात्मक उदाहरण र विगत छ ।”
संविधानमा नै सार्वजनिक, निजी र सहकारीको संयोजनमा नेपालको विकासको मोडेल समाजवाद उन्मुख हुने छ भनेर लखे पनि व्यवहारिक रुपमा त्यस्ता आयोजना अघि बढ्न र निजी क्षेत्रसँग भएको साधन स्रोत परिचालन गर्नमा राज्य राम्रोसँग अघि आउन नसकेको उहाँले बताउनुभयो । अबको समय सामाजिक न्याय सहितको विकासमा जानु पर्ने उहाँको भनाई छ ।
भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रमोद शाह, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, कम्युनिष्ट नेता तेजेन्द्र बहादुर खड्का, महानगर उपप्रमुख पार्वती शाह ठकुरी, भरतपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष चन्द्रमित्र पण्डित, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल लगायतको सहभागिता रहेको थियो
सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजा आर्या बिल्डर्स एण्ड इन्जिनियरिङ प्रालिले भरतपुर महानगरपालिका वडा नम्बर ३ को लायन्स चोकमा निर्माण र सञ्चालन हुने गरी सम्झौता भएको हो ।
सम्झौताको मितिले निर्माणका लागि ३ वर्षसहित ३० वर्षपछि भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्नुपर्नेछ ।
निर्माणाधीन बहुतले भरतपुर मेट्रो प्लाजा २ तला अन्डर ग्राउन्ड पार्किङ १४ तलाको हुनेछ । ३ लाख २५ हजार वर्ग फिट र ५१ मिटर उचाइको रहने छ । भवनमा ५ तारे होटलदेखि सिनेमा हल ,फुट कोर्टका साथै व्यावसायिक स्थलहरू हुनेछन् ।
आयोजनाको निर्माण आर्या बिल्डर्सले गर्नेछ भने यसको अनुगमन र नियमन भरतपुर महानगरपालिकाले गर्ने छ । भरतपुर महानगरको मुख्य बजार लायन्सचोकमा निर्माण हुने भरतपुर मेट्रो प्लाजा ११ कट्टा ७ धुर क्षेत्रफलमा निर्माण हुनेछ ।