चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज (शुक्रबार) दुई खेल सम्पन्न भएका छन् ।
लिग अन्तर्गत शारदानगरको मैदानमा आज सम्पन्न पहिलो खेलमा नारायणी फुटबल क्लब एनएफसीले जित हात पारेको छ । एनएफसीले हर्दी युवा समाजलाई २-१ ले पाखा लगाएको हो । उसको जितमा सुगम तामाङ र सुरज गुरुङले गोल गरे । हर्दीका सन्तोष थिङले एक गोल गरे ।
खेलमा अग्रता भने हर्दीले लिएको थियो । दोस्रो मिनेटमा नै गोल गर्दै सन्तोषले हर्दीलाई अग्रता दिलाएका थिए । तर उसको अग्रता धेरै समय टिकेन । एनएफसीका सुगमले खेलको ११ औं मिनेटमा बराबरी गोल गरे । सुरजले ४५ औं मिनेटमा गोल गरेपछि एनएफसीले २-१ ले विजयी भयो । यो जितपछि एनएफसीले तालिकामा ३ अंक बटुलेको छ ।
आजै भएको दोस्रो खेलमा एभरेष्ट क्लब चितवन विजयी भएको छ । एभरेष्टले यात्रा ग्रुप भरतपुरलाई २-१ ले हरायो । उसको जितमा किरण घले र सुजल गुरुङले गोल गरे । यात्राका सुनिल पुलामीले एक गोल फर्काए ।
एभरेष्टका किरणले २५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा सुजलले गोल गर्दै अग्रता दोब्बर बनाए । यात्राका सुनिलले अतिरिक्त समयमा गोल गरे पनि हार टार्न सकेनन् । यो जितपछि एभरेष्टले तालिकामा महत्त्वपूर्ण ३ अंक बटुलेको छ ।
लिगमा सोमबार पनि दुई खेल हुनेछ । सोमबार पहिलो खेलमा हानामी भरतपुर फुटबल क्लब (बिएफसी) र नारायणी मोटर्स युनिक एफसी भिड्नेछन् । खेल दिउँसो २:३० बजे शारदानगरको मैदानमा हुनेछ । सोही मैदानमा दिउँसो ४:३० बजे रामपुर एफसी र माडी ११ भिड्नेछन् ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ । रासस