चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा आजदेखि स्वास्थ्य बीमा पुनः सञ्चालन भएको छ । दुईबर्ष अघि स्थगित गरिएको स्वास्थ्य बीमा आज देखि सञ्चालनमा ल्याउन लागिएको अस्पतालमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईयो ।
स्वास्थ्य बीमा बोर्ड र अस्पतालबीच गत जेठ १८ गते नै सम्झौता भई अहिले कार्यान्वयनमा आउन लागेको हो ।
बोर्डले साउन १ गतेबाट लागु हुनेगरी सिएमसीलाई बीमा कार्यक्रम सञ्चालन स्वीकृति प्रदान गरेसंँगै आजबाट औपचारिक रुपमा सञ्चालनमा ल्याईएको अस्पतालको प्रमुख प्रशासक प्रताप देवकोटाले जानकारी दिए । देबकोटाले बीमा गरेका बिरामी टाढाटाढाबाट समेत आउने गरेको तर, बीमाको सुविधा नहुँदा समस्या पर्ने गरेको भन्दै बिरामीको समस्यालाई मध्यनजर गर्दै पुनः बीमाको सेवा शुरु गरेको बताए ।
आकस्मिक सेवा आउने स्वास्थ्य बीमा गरेका बिरामीलाई रिफर आवश्यक नहुने र बरामीले पहिलो विन्दु तोकिएको अस्पतालबाट रिफर ल्याउनु पर्नेछ । अस्पतालमा सुपर स्पेशलिष्ट सेवा रहेको जानकारी दिदैं अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बीमाका बिरामीका साथै अन्य बिरामीले थप सेवाका लागि अन्य अस्पताल जान नपर्ने बताए । देशकै पहिलो स्वास्थ्य बीमा लागु भएको यो अस्पतालमा हरेक विभागमा जनशक्ति थप गरिएको उनले बताए ।
यो बीमा सुविधा सिएमसीको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटमा पनि लागू हुनेछ ।
स्वास्थ्य बीमा मार्फत् उपचार गर्दा बोर्डले तोके अनुसार सरकारी अस्पतालमा १० प्रतिशत (को–पेमेण्ट) र निजीमा २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने हुन्छ । सोही अनुसार सिएमसीमा उपचार गर्दा पनि उपचार खर्चको २० प्रतिशत भने बिरामीले व्यहोर्नु पर्ने उनले जानकारी दिए ।
अस्पतालले गत आर्थिक बर्षमा २०८० मा बहिरंग सेवामा एकलाख ८४ हजार २८ जना बिरामीलाई सेवा दिएको जनाएको छ । यस्तै १७ हजार ७८ जनालाई आकस्मिक सेवा दिइएको छ । अस्पतालले एकबर्षको अवधिमा दुईहजार ४९६वटा जटिल शल्यक्रिया गरेको छ ।
अस्पतालका अनुसार गत आर्थिक बर्षमा एकलाख सम्म छुट लिने बिरामीको संख्या ९९२ जना, निःशुल्क डायालासिसको संख्या ६ हजार २३१ जना, भरतपुर महानगरपालिकाका ४हजार ३९५ जना महिलाहरुको निःशुल्क स्वास्थ्य परीक्षणका साथै विपन्न छुट अन्तर्गत ५ करोड ६१ लाख ८ हजार ४१३ रुपैंया बराबरको उपचार निःशुल्क गरेको छ ।