चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा साविक विजेता हानामी भरतपुर फुटबल क्लब (बिएफसी) ले विजयी सुरुवात गरेको छ ।
शुक्रबार भरतपुर ७ कृष्णपुर मैदानमा सम्पन्न उद्घाटन खेलमा नारायणी फुटबल क्लबलाई २-० ले हराउँदै बिएफसीले विजयी सुरुवात गरेको हो । उसको जितमा सुमन आले मगर र सागर तामाङ लोप्चनले गोल गरे ।
खेलको सातौं मिनेटमा सुमनको गोलमा बिएफसीले अग्रता लिएको थियो । ५९ औं मिनेटमा सागरले गोल गर्दै २-० को जित सुनिश्चित गरे। विएफसीका अन्जन चौधरी म्यान अफ दि म्याच चुनिए ।
लिगमा शनिबार साविक उपविजेता एभरेष्ट क्लब र माडी ११ भिड्नेछन् । खेल बेलुकी ५ बजे कृष्णपुरमा हुनेछ ।
यस अघि लिगको अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा भरतपुर महानगरपालिका ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले, सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङका प्रिन्सिपल यज्ञविलास पौडेल (वाइबी) लगायतको उपस्तिथि थियो । चितवन जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज रहेको छ ।