चितवन । हरेक वर्ष असार १५ गते मनाईदै आएको राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सब यस वर्ष चितवनमा मनाईने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवनको धान जोन क्षेत्रको बछौलीमा प्रधानमन्त्रीको सहभागितामा रोपाई महोत्सब मनाउन लागिएको हो ।
आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा रत्ननगर नगरपालिका वडा नम्बर ७ बछौलीमा महोत्सब मनाउने तयारी गरिएको आयोजक समितिका संयोजक एबं कृषि बिभागका महानिर्देशक नरहरी प्रसाद घिमिरेले जानकारी दिनुभयो । जलबायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि भन्ने मुल नाराका साथ महोत्सव गर्न लागिएको हो । महोत्सबमा धान रोप्ने मेसीनले १ हेक्टर क्षेत्रफलमा धान रोपिने छ । बछुली बहुउद्देशीय कृषि समुहमा आयोजना गर्न लागिएको महोत्सबमा कृषि क्षेत्रमा आधुनिकिकरणको बिषयमा समेत जानकारी दिईने छ ।
कार्यक्रममा जलवायु मैत्री तथा जलवायु परिवर्तनसंग जुध्न सक्ने धानका जातहरुको बारेमा समेत जानकारी दिईने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सुख्खा क्षेत्र सहन सक्ने ६ जात र डुबान सहन सक्ने २ जातका धानको बारेमा समेत जानकारी गराईने छ । अहिले मनसुन ढिला शुरु हुँदा कतै बीउ राख्ने त कतै रोपाई गर्ने अबस्था सृजना भएको छ । धान रोपाईमा मेसीनको प्रयोग गर्न सके कृषकलाई समय र खर्च समेत कम हुनेछ । उहाँले भन्नुभयो “प्रबिधिको प्रयोग गरेर कृषि कर्म गरे ३० प्रतिशत सम्म उत्पादन वढ्ने छ ।”
जिल्लामा अहिले पाँचवटा मेसीनबाट धान रोपाई हुँदै आएको छ । एक बिगाहा क्षेत्रफलमा धान रोप्दा रु ५ हजार मात्र खर्च हुने भएकाले हरेक दृष्टिकोणबाट समेत पलदायी हुने उहाँले बताउनुभयो । जलवायु परिवर्तनको असरको न्यूनिकराण्का लागि प्रबिधिको बिकास भए पनि यसको प्रयोगका बारेमा जानकारी नहुँदा समस्या हुने गरेको उहाँले जानकारी दिनुभयो ।
सम्मेलनमा जिल्लामा हाल सम्म १४ प्रतिशत धान रोपाई सम्पन्न भएको जानकारी दिईएको छ । चितवनमा २२ हजार ८७० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती गरिदैं आईएको छ । पूर्बी चितवन र पश्चिम चितवनको माडी क्षेत्रमा धान रोपाई भईरहेको कृषि कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्बी क्षेत्रमा असार पहिलो साताबाट धान रोपाई सुरु भएको हो भने पश्चिम क्षेत्रमा असार अन्तिम साताबाट रोपाई शुरु हुने गरेको छ । सिंँचाईका लागि धान जोन क्षेत्रमा ८० प्रतिशत व्यवस्थापन भईसकेको छ । अन्य क्षेत्रमा समेत सिचाईका लागि बोरीङ् जडानको काम भईरहेको भए पनि नहरबाट पानी लाग्ने ठाउँहरुमा ढिला हुने गरेको उहाँले बताउनुभयो । जिल्लामा सञ्चालित धान जोन क्षेत्रमा ५० प्रतिशत रोपाई सम्पन्न भईसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको ८ हजार ५ सय हेक्टर क्षेत्रफल धान जोनको रुपमा विकास गरिएको छ ।