भरतपुर । प्रथम चितवन जिल्ला विद्यालय स्तरीय छात्रा भलिबल प्रतियोगिताको सुरु भएको छ । हिमालय दण्डपाणि न्यौपाने मावि भरतपुर १३ मा सुरु भएको प्रतियोगिताको पहिलो दिन आज आठ खेल सम्पन्न भएका छन् ।
प्रतियोगितामा समूह ए बाट अमर मावि र समूह बी बाट हिमालय दण्डपाणि मावि सेमिफाइनल प्रवेश गरेका छन् । अमर माविले सोमेश्वर मावि माडीलाई २-० को सोझो सेटमा पाखा लगायो । अमर माविले पहिलो सेट २५-२३ र दोस्रो सेट २५-१० ले जित्यो ।
उता समूह बी मा हिमालय दण्डपाणिले प्रभात माविलाई पनि २-० को सोझो सेटमा नै पाखा लगायो । पहिलो सेट २५-८ ले जितेको हिमालय दण्डपाणिले दोस्रो सेटमा २५-६ को सहज जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
त्यस अघि प्रतियोगिताको आज एक कार्यक्रमकाबीच प्रमुख अतिथि नेपाल भलिवल संघकी केन्द्रीय सदस्य बिमला थापा श्रेष्ठले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी) लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा चितवनका विभिन्न १४ विद्यालय सहभागी भएका छन् । असार ८ गतेसम्म हुने प्रतियोगिताको विजेताले ट्रफीसहित २० हजार रुपैयाँ तथा उपविजेताले दश हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।