सूर्यप्रसाद अधिकारी, चितवन । चालु आर्थिक बर्ष २०८०, २०८१ मा चितवनमा सवारी दुर्घटनाबाट १०८ जनाको मृत्यु भएको छ । चालु आबको साउनदेखि जेठसम्मको अवधिमा ७७२ जना घाईते भएको र यस अवधिमा ४११ वटा सवारी साधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सबैभन्दा बढी मानवीय क्षति भित्री सडकमा
चितवनमा भएका दुर्घटना मध्ये सबै भन्दा बढी मानवीय क्षति भित्री सडकमा भएको पाईएको छ । जसअनुसार ११ महिनाको अवधिमा सवारी दुर्घटनाबाट भित्री सडकमा ४५ जनाको मृत्यु र ३५५ जना घाईते भएका छन भने सबैभन्दा कम क्षति शहरी सडक खण्डमा ८ जनाको मृत्यु र ३३ जना घाईते भएका छन ।
कार्यालयका अनुसार सो अवधिमा पृथ्वी राजमार्गमा सवारी दुर्घटनाबाट १० जनाको मृत्यु ६० जना घाईते , नारायणगढ – मुग्लिनसडक खण्डमा २० जनाको मृत्यु र १३६ जना घाईते, र पूर्व पश्चिम राजमार्गमा २५ जनाको मृत्यु र १८८ जना घाईते भएका छन ।
सो अवधिमा भित्री सडकमा २३० वटा , शहरी सडकमा २६ वटा, पृथ्वी राजमार्गमा १६ वटा, नारायणगढ मुग्लिन सडकमा ५० वटा र पूर्व पश्चिम राजमार्गमा ८९ वटा सवारी साधन दुर्घटनामा परेका कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुरेश सुवेदीले पछिल्लो समय भित्री सडकको बाटो विस्तार भएसंँगै दुर्घटनाको अनुपात पनि बढ्दै गएको बताउनु भयो । ‘ भित्री सडकमा भएको मानवीय क्षतिमा सबैभन्दा बढी दुईपांँग्रे सवारी साधन र पैदल यात्रीबाटनै भएको पाईएको छ , उहांँले भन्नुभयो, यो क्षति बढ्नुमा चालकको लापरवाही, ड्रिंक एण्ड ड्राईभ र यात्रुमा सचेतनाको कमीनै हो । ’
तुलनात्मक रुपमा ठूला सवारी साधनको तुलनामा दुर्घटना बढी दुईपांँग्रे सवारी साधनमा हुने र मानवीय क्षति पनि यी प्रकृतिका सवारी साधनमा हुने प्रमुख सुबेदीको भनाई छ । आगामी दिनमा दुर्घटना न्यूनिकरणका लागि जिल्लाका सबै सवारीसाधन चालकलाई अलग समुह बनाएर ट्राफिक सचेतना दिन लागिएको र सोही अनुसार सवारी साधनमा स्ट्रीकर टांँस गरिने योजना रहेको उहांँले बताउनु भयो ।