भरतपुर, विभिन्न सञ्चार माध्यममा प्रकाशित रेष्टुरेण्टको खानाले फुड पोइजन भै सात जना बिरामी भएको भन्ने समाचार प्रति होटल व्यवसायी संघ चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण) द्धारा जारी विज्ञप्तिमा सम्पुर्ण होटल व्यवसायीहरुले स्वच्छ सफा खाना तथा स्तरीय सेवा प्रदान गर्नु पर्नेमा जोड दिईएको छ ।
लामो समयसम्म एउटै तेल प्रयोग गर्ने, फ्रिजमा राखिएका सामानहरु उचित तापक्रममा नराख्ने जस्ता कार्यबाट बनाएका खानाहरु अस्वथकर हुने र त्यस्ता खाद्यवस्तु खाने मानिसहरुको स्वास्थयमा समस्या देखिने भन्दै विज्ञप्तिमा सम्पुर्ण होटल व्यवसायीहरुलाई सचेत भै गुणस्तरीय खाना उपलब्ध गराउन अनुरोध गरिएको छ ।
नेपालको संविधानको धारा ४४ को उपधारा १ मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने व्यवस्था गरेसँगै उपधारा २ मा गुणस्तरहीन वस्तु वा सेवा प्रदानबाट क्षति पुगेमा व्यक्तिलाई कानुन बमोजिम क्षतिपुर्ति व्यवस्था रहेको साथै होटल व्यवसाय नै बन्द गर्न सक्ने कानुनी व्यवस्था भएकोले सम्पुर्ण व्यवसायीहरुलाई सचेत भै गुणस्तरीय खाना तथा सेवा प्रदान गरि व्यवसाय सञ्चालन गर्न अनुरोध गर्दै विज्ञप्तिमा अन्यथा संघ जवाफदेहि नहुने र त्यसको जिम्मेवार स्वयम् व्यवसायी नै हुने उल्लेख गरिएको छ ।