चितवन । मिस प्लस साइज चितवन २०२४ को अडिसन भोलि जेठ १६ गते (बुधबार) नारायणगढको हङकङ बजारमा रहेको चितवन स्कूल अफ फेसनमा हुंँदैछ ।
प्लस साइज नेपालको आयोजनामा प्लस साईज ६० केजी भन्दा माथि तौल भएका १६ वर्ष देखि ३५ वर्ष सम्मका विवाहित तथा अविवाहित महिलाहरुलाई लक्षित गरी उक्त अडिसन हुन लागेको हो । प्लस साइज भएका महिलाहरुको सुन्दरतालाई निखारता ल्याउने, उनीहरूको क्षमता अभिवृद्धि गर्ने र नेतृत्वदायी भूमिका निर्वाह गर्ने उद्धेश्यसहित पहिलो पटक मिस प्लस साइज चितवन गर्न लागेको प्लस साइज नेपालका निर्देशक रञ्जित क्षेत्रीले जानकारी दिए ।
निर्देशक क्षेत्रीका अनुसार हाल सम्म ४० भन्दा बढी प्लस साइज महिलाहरुले अडिसनको लागि आवेदन भरेका छन् भने ३० जना भन्दा बढी प्लस साइज महिलाहरु अडिसनमा सहभागिता हुने अनुमान गरिएको छ । अडिसन भोलि दिउँसो १ बजेबाट हुंँदैछ ।
अडिसन बाट छनोट हुने प्लस साइज महिलाहरुलाई १५ दिनको तालिम दिइने छ। प्लस साइज चितवन २०२४ को ग्रान्ड फिनाले भने असारको दोस्रो साता हुने क्षेत्रीले बताए ।
चितवनसँगै पोखरा, धरान, बिर्तामोड, नेपालगञ्जमा पनि यो कार्यक्रम गरिने प्लस साइज नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल बस्नेतले बताए । यी शहरबाट छानिने विजेता र फर्स्ट रनर अपले काठमाडौंमा हुने मिस प्लस साइज नेपालमा सहभागी हुने अवसर पाउनेछन् । यस्तै मिस प्लस साइज नेपाललाई अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता सहभागी गराइने बस्नेतको भनाई छ ।